३ अर्ब लागतमा गण्डकी मेडिकल कलेजकाे नयाँ भवन बन्दै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले पोखराको रिठेपानीमा करिब ३ अर्ब खर्चेर नयाँ भवन बनाउने भएको छ । ४ लाख ५० हजार वर्ग फिटमा ७ सय ५० शैयाको विशिष्टिकृत अस्पतालको भवन बनाउन लागिएको हो।

जनघनत्वलाई मध्यनजर गरी हाल त्यहाँको पुरानो भवनमा बिडिएस, नर्सिङ तथा अन्य शैक्षिक कार्यकम सञ्चालनमा छन् । रिठेपानीमा चलिरहेका कार्यक्रम भने पोखरा-२७, छत्रेढुंगाबाट सञ्चालन हुनेछन् ।

 त्यहाँ रहेको कम्पनीको एक लाख १४ हजार वर्ग फिट जग्गामा यसका लागि करिब १ अर्ब खर्चेर आधुनिक शैक्षिक भवन बनाइने भएको छ ।

दुवै भवन बुधबार आयोजित विशेष समोहमा प्रालिका अध्यक्ष खुमाप्रसाद अर्यालले शिलान्यास गरे । हाल पोखरा ९ नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजको अस्पतालमा पोखराको जनघनत्व बढ्दै बिरामीको चाप बढेकाे छ ।

जनघनत्वलाई मध्यनजर गरी हाल सञ्चालनमा रहेको अस्पताललाई सिटी अस्पतालका रुपमा मात्र चलाएर रिठेपानीमा विशिष्टिकृत अस्पताल सञ्चालन गरिने शिक्षण अस्पतालका प्राचार्य डा. रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले २०६४ सालमा यसको स्थापना भएको हो । स्थापनाको १९ औं वर्षमा आइपुग्दा कम्पनीले स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्न प्राज्ञिक भवनमा ५ अर्ब लगानी गरिसकेको श्रेष्ठले सुनाए ।

जिएमसीबाट स्नात्तकमा एमबिबिएस / बिडिएसतर्फ ६ सय ५९ र नर्सिङ तथा एलाइड साइन्सेजतर्फ १ सय २१ जनाले उत्तीर्ण गरिसकेका छन् स्नातकोत्तरमा एमडी/एमएस तथा एमपिएचतर्फ गरी ५० जना दक्ष जनशक्ति तयार भइसकेका छन् ।

संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १ हजार २ सय जनालाई रोजगारी प्रदान गर्दै आएको र वार्षिक रुपमा करिब २ लाखलाई स्वास्थ्य सेवा प्रदान गरिरहेकाे जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्