नारीहरुको महान पर्व हरितालिका तीज: परम्परा, वर्तमान अवस्था र ऐतिहासिक महत्व

✍️लक्ष्मी अधिकारी
  • ख-
  • ख+

हरितालिका तीज महिलाहरुसंग सम्बन्धित छ भन्ने बुझिन्छ । तीजको आफ्नै महत्व छ । धार्मिक कथनहरुलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता पार्वतीमा थियो । सोहि कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् । उनी जंगलमा गएर कठोेर तपस्या गर्न थालिन् ।

दिव्य एकसय वर्ष तपस्या गर्दा पनि तपस्याको फल प्रप्त नभएपछि पार्वतीले शिवलिङ्ग स्थापना गरि तपस्यालाई थप उचाईमा पुर्याउन थालिन् । कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनि आशिर्वाद दिए र पार्वतीले शिवलाई पति प्रप्त गर्न सफल भइन् भन्ने धार्मिक किम्बदन्तीहरु छन् ।

विशेष संकल्प दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्रप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस हरितालिका तीज पर्वको महत्व आफैमा विशिष्ट छ । पार्वतीले यो व्रत प्रारम्भ गरेको मुख्य दिन यहि भाद्र शुक्ल द्वितियाबाट हो । चार दिन सम्म चल्ने यस पर्वको आफ्नै विशेषता र महत्व रहेको पाइन्छ । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले ।

आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ । हरित र आलिका मिलेर हरितालिका बनेको हो । जसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरू भन्ने हुन्छ । अर्थात् सखीहरूबाट हरेर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल भएकोले तीज पर्वलाई हरितालिका तीज भनिननेपाली हिन्दु महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । विदेशमा रहेका नेपाली महिलाहरूले समेत यो चाड मनाउन थालेका छन् ।

बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो, तीज । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरी चेलीलाई भेट्ने र सकेसम्म माइती फर्कने प्रचलन छ, जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।

पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नहुँदा एकदिन भए पनि मीठो मसिनो ख्वाउन माइती पक्षकाहरु लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौँ अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्वको व्यग्र प्रतीक्षामा हुन्थे ।

✍️लक्ष्मी अधिकारी

विद्युतीय उपकरण र साधन नहुँदा महिलाहरू समूहमा भेला भई डम्फु, मादल, थपडी र मुर्चुङ्गामा नजिकैको मन्दिर, स्कुल, चौपारी वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुन्जाउँथे । गाउँथे, नाच्थे । भने अहिले त मोबाइल, रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् ।

कसरी मनाउने हरितालिका तीज ?
खास गरी हिन्दू नारीहरु विवाहित वा अविवाहित सबैले यो पर्वलाई मनाउने र धारण गर्न सक्छन् । भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रुपमा पनि लिइन्छ ।

विशेषतः भगवान शिवकै पुजा र आरधाना गरी मनाईने हरितालिका तीजको व्रतले पतिको आयु, आरोग्य, ऐश्वर्य तथा स्वस्थ्य राम्रो र सम्मुनत हुने विश्वास परापूर्वकालदेखि नै रहिआएको छ ।

स्वयं माता पार्वतीले पति शिवलाई पति पाउँ र शिवको स्वास्थ्य, आयु एव्म ऐश्वर्यमा कुनै बाधा नपुगोस् भन्ने दृढ चाहना राखेर व्रत उपासमा गरिएकाले सोही प्रसंगले निरन्तरता पाइरहेको विश्वास व्रतालु एवं धर्मालम्बिहरुमा रहनु स्वभाविक हो । यस्तो पवित्र उद्देश्य र संकल्प रहेको हरितालिका तीजको नामले प्रख्यात पर्व केही समय यता धार्मिक पर्वका नाममा सामाजिक विकृति बनेर आइरहेको छ ।

तीज महोत्सब, तीज महामेला, तीज माहाकुन्भ, तीज फेस्टिबल, तीज त्यौहार जस्ता अनेक नामले तीजको धार्मिक–सामाजिक महत्व खस्कँदै गइरहेको छ । विशेषतः यस पर्वलाई चेलिबेटी तथा दिदीबहिनी पुनर्मिलनको आनन्दमय उत्सबको रुपमा मनाउनुपर्ने मान्याता हो । अहिले आएर होटल रेस्टुरेन्ट, बार, पार्टि प्यालेस मात्र नभई शिक्षक शिक्षिका तथा अभिभावक भेला भएर स्कुलमा, कर्मचारीहरु आ–आफ्नो दल विशेषका युनियनहरुमा, पेशागत संघसंस्थाहरु आ–आफ्नो कार्यलयमा, वनभोजमा तथा टे«किङ्ग र हाइकिङ्मासमेत तीज अनि दरको संस्कृति विकृति बनेर अगाडि बढदै गइरहेको छ । तीजको धार्मिक संस्कृतिक एवं सामाजिक महत्व दिनानुदिन घट्दै गइरहेको पाइन्छ ।

लामो समयसम्म भेटघाट नभएका चेलिबेटि माइतीमा भेला भएर सुख दुःख, उन्नति प्रगति आदिका बारेमा चर्चा परिचर्चा गर्दै दाजु–भाई, माता पिता सबैको सामूहिक उल्लासलाई उल्लासमय रुपमा माइतीको गाउँ, ठाउँ र देशमा मनाउनु पर्ने पर्वको अहिले आएर पार्टी प्यालेस र ब्याङ्केटलाई माइती मानेर मनाइँदै जान थालिएको छ । यसले हाम्रो धर्म, संस्कृति, संस्कार र सामाजिक अवस्थालाई कता लैजाँदै छ भन्ने स्वयं तीजको रमझममा रमाइरहेका हामी सबैले सोच्नु पर्ने बेला आएको छ ।

मुलुकको उत्पादनमुखि अर्थतन्त्र खस्कँदो छ । तीजको भड्किलो दर कार्यक्रम, टिकट, चिठ्ठा एवं कक्टेल दर तथा डिनर जस्ता कार्यक्रम अनुत्पादक अर्थतन्त्रका द्योतक हुन् । सरकारले फजुल खर्च कम गर्ने, दरका नाममा हुने विकृति नियन्त्रण गर्ने र पार्टी प्यालेसहरुमा सांस्कृतिक विकृती नियन्त्रण गर्ने कानुन पनि निर्माण गरेको छ । हामी सरकारलाई दर खाई टन्न भएर गाली पनि गर्छौं । सरकारले केही गरेन पनि भन्छौं । सोचौं त सरकारले फजुल खर्च कम गर भनेको छ, नियन्त्रण गर्ने ऐन कानुन छ । हामीले चाहिँ कहाँ र कहिले पालना गर्यौं त ? यस्ता प्रश्नहरु धेरै छन् र प्रायः अनुत्तरित पनि छन् ।

यस वर्षको तीज बिहिबारबाट प्रारम्भ हुँदैछ । हरितालिका तीज संकल्पको पर्व हो । उपबास र उपासनाको पर्व हो । संस्कृतीलाई विकृती होइन सुसंस्कृत बनाउने संकल्प सहितको पर्व हो । हामी सबै नारी पुरुषले यसलाई संस्कारयुक्त बनाउन सकेनौं भने तीज दिन प्रतिदिन खर्चालु, भड्किलो र सामाजिक रुपले विषाक्त बन्दै जाने छ ।

हरितालिका तीजको प्रथम दिन अर्थात भाद्र शुक्ल द्वितीय दर खाने दिन हो शरीरलाई पोषकयुक्त, गुणस्तरीय एवं स्वास्थवर्धक वस्तु खाएर मनाउनु राम्रो हुन्छ । दोस्रो दिन हरितालिका तीज भाद्र तृतीय, मुख्य व्रत र उपासनाको दिन हो । उप र वास, उप अर्थात नजिक र वास भनेको बस्नु हो । कसका नजिक बस्नु ? भगवानका नजिक बस्नु सत्यको निकट बस्नु असत्य, अहङकार विकृती र विसंगतीबाट टाढा रहनु नै उपबासको सहि अर्थ र व्रतको सार्थकता हुने भएकाले शान्त, प्रसन्न एवम् दृढ संकल्पका साथ हरितालिकाको व्रत बस्नाले सबैका लागि हितकार हुन्छ ।

शरीर, मन र वचनले शुद्ध भएर दियो, कलश गणेश स्थापित गरी उमामहेश्वरको पूजा गरी आफ्नो संकल्पलाई सार्थक पार्न गरिने निस्काम व्रत नै हरितालिका तीजको प्रमुख व्रत मानिन्छ । ‘उमामहेश्वरसामुज्य सिद्धेये हरितालिका व्रतमहं करिस्ये’ भन्ने संकल्पका साथ शिव पार्वतीको प्रतिमामा पूजा गर्नाले नै पतिको अतिरिक्त सम्पुर्ण परिवारको नै आयु, आरोग्य, सौभाग्य एव्म श्रीबृद्धि हुने विश्वास यस व्रतको हो । हरितालिका व्रत कथा सुन्ने चलन पनि छ । शिवजीले पार्वतीलाई पूर्व जन्मको स्मरण गराएको महात्म्य नै हरितालिका व्रत कथा हो । एवं रितले तेश्र्रो दिन गणेश चौथी पर्दछ । व्रतको उद्यापन गरि सामान्य शुद्ध भोजन गरि पंञ्चमी पुजा गरेपछि हरितालिका तीज समाप्त हुन्छ ।

तीजमा के गर्ने के नगर्ने ?
पवित्र उद्देश्य र दृढ संकल्पका साथ सम्पन्न गरिने अनुष्ठानमा दरका नाममा अभक्ष, अखाद्य एवम् आफ्नो स्वास्थ्यलाई प्रतिकुल असर गर्ने भोजन नगर्ने । हामीले सुन्दै र पढ्दै आइरहेका छौं कि कहीँ अखाद्य भोजनका कारण गाउँ नै बिरामी प¥यो । कहीँ इनारको पानी प्रयोग गरि दर पकाएका कारण वडाका सबै महिला बिरामी परे । कहीँ दर खाएर घर फर्कदै गरेकी युवती दुर्घटनामा परिन् । यी र यस्ता समामचार थुप्रै छन् । अतः आफ्नो इष्टमित्र, अत्यन्त निकट छिमेकी तथा साथीभाइबीच सम्बन्ध सुमधुर बनाउनु सुखद् विषय हो । सम्बन्ध दर खाएर र खुवाएर मात्र सुदृढ हुने होइन । यो त व्यवहार, आदर्श र भावनाले हुने विषय हो । यो वर्ष जे ग¥यौं ग¥यौं आगामी दिनमा अनुत्पादक दर र अनुत्पादक तीजलाई टाढैबाट नमस्कार गरौं । मौलिक संस्कृति अनुरुप हरितालिका पर्व मनाउने संकल्प यही तीजबाट लिन सक्यौं भने मात्र व्रतको र हरितालिकाको मुख्य फल प्राप्त होला ।

हामी सामाजिक प्राणी, कतिपय मानिस एक पत्ता जीवन जल र एउटा गोली सिटामोल नपाएर मृत्युवरण गर्न वध्य छन् । कतियप हामी नवसंभ्रान्त भनिनेहरु दैनिक दरका नाममा फजुल खर्च गरिरहेका छौं । के हामीले दर नखाएर दिनहिनहरुको सेवा गर्न सक्दैनौं ? अनुत्पादक खर्चलाई उत्पादनमुखी बनाउन सक्दैनौं ? सोचौं ‘हरितालिका तीजको उपहार विपन्न बालबालिकाहरुलाई पुरस्कार’ भन्ने सोच पनि बनाउन सक्छौं । यो तीजले नकारात्मक भावनाहरुको अन्त्य गरी सकारात्मक सोच र भावनाको विकास गर्न सक्नु पर्दछ ।

हामी व्रतालुहरु व्रतको दिन मन्दिर जन्छौं, गहना तीजको संस्कृती नै हो । हामी तीजमा विशेष श्रृंगार गर्छौं, गच्छे अनुसारको पहिरन लगाउँछौं । सोचौं गहना दुर्घटनाको कारण नबनोस् । भड्किलो श्रृंगार र पोशाक बलात्कारको समाचार नबनोस् । तसर्थ ठीक गरगहना र मन्दिर जाँदाको होसियारीप्रति सबैको ध्यान पुग्नु जरुरी छ । श्रृंगार तथा गरगहना उत्ताउलो होइन शालिन र भद्र होस् । तीज संस्कार र संस्कृतिले पूर्ण बन्नु सक्नु पर्दछ । यसैमा छ तीजको महत्व । धर्मका नाममा जबर्जस्ती व्रत पनि बस्नु हुँदैन् । जबर्जस्ती व्रत स्वयंमा प्रत्युत्पादक हुन्छ ।
गाउँको त्यो मौलिक तीज

मलाई अहिले पनि सम्झना छ, हाम्रो हजुरआमाको पालामा कामको निकै चाप हुन्थ्यो । दिनमा कामले नभ्याएर रातीमा सबैको घरमा पालैपालो जम्मा भएर थपडीको तालमा सुख दुःखका गीत गाएर नाच्नुहुन्थ्यो । हामी पनि गाउँगाउँमा खुबै हिँड्थ्यो । प्रत्येक गीतमा कथा हुन्थे, त्यसका अर्थ हुन्थे । केटाकेटी भएकोले हामीले राम्रोसँग बुझिँदैनथ्यो तर निकै रमाइलो लाग्थ्यो ।

सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विकृति, विसङ्गति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा हजारौँ हजार वर्षदेखि यो चाड मनाइँदै आएको छ । हामी माता पार्वतीलाई नारी जातिको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौँ । हाम्रो वैदिक दर्शनले स्त्रीलाई प्रकृति मानेको छ । यसर्थ तीजको सम्बन्ध प्रकृति तत्त्वसँग छ । एक प्रकारले प्रकृतिको सम्मान, महत्त्व र सामीप्यलाई यो चाडले आत्मसात् गरेको छ । तात्त्विक रूपमा प्रकृति (धर्ती) र पुरुष –आत्मा) तत्त्वको मिलनको चाड हो यो । प्रकृति आत्मा र परमात्माको संयुक्त स्वरूपलाई नै हाम्रा दर्शनले ब्रह्मा मानेका छन् ।

तीजमा पश्चिमेली शैली

पहिले चुल्हो चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्थे । अहिले त टोल टोलमा समूह बनाएर एक महिना अघिदेखि नै नाचगान र खानपिनका कार्यक्रम गरिन्छ । यसले तीजको खास अर्थ र महत्त्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । हिजोआज तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप मौलिकता हराउन थालेको छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ ।

तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आर्थिक भार बढिरहेको छ भने गरिबहरुलाई पर्व कसरी मनाउने भनेर चिन्ता पनि थपिदैछ । यो निकै नराम्रो पक्ष हो ।

सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि यसको आस्था र महत्त्व उत्तिकै छ ।  त्यसैले यसलाई संरक्षण र सम्वर्द्धन गर्दै अगाडि बढ्नुपर्ने आजको पुस्ताको जिम्मेवारी र दायित्व हो । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । यद्यपि यसको महत्वमा कुनै कमी देखिँदैन । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको गुनासो पनि हुन थालेको छ ।

तीज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन तैपनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ । विशेष गरी तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।

धार्मिक महत्व
तीज पर्व हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ ।

पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ । तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ ।

रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । ह्दय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ । तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै देखिन्छ । पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ ।

सामाजिक महत्व
नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ ।

विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दु:खका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । केही वर्षयतादेखि व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै गएको छ । कतिपय मध्यम वर्गीय घरमा सामाजिक संस्कार फेरिएका छन् । विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन बढ्न थालेको छ । यसले माइती पक्षलाई छोरीका निम्ति थप आर्थिक भार बेहोर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ ।

दर पठाउने क्रममा माइतीबाट छोरीको घरमा सम्धिनीलाई मात्र नभएर जेठानी, नन्द,आमाजूसमेतलाई गरगहना, पहिरन, जुत्ता, शृंगार सामग्री आदिका साथै ११ किसिमका परिकार पठाउनुपर्ने चलनको थालनी भएको छ । यस्तो सामाजिक व्यवहारले तीजको वास्तविक उद्देश्यलाई ओझेलमा पारेको छ । यो चलनको दुष्प्रभावस्वरूप धेरै बुहारी भएको घरमा कसले कति ल्याउने भन्ने अनावश्यक टिप्पणी हुने गर्छ । कम ल्याउने बुहारीलाई होच्याउने, अपमान गर्ने र बढी ल्याउने बुहारीलाई बढी सम्मान दिने गलत र अनावश्यक प्रतिस्पर्धाले हाम्रो सामाजिक सद्भाव र मेलमिलापमै असर पार्न सक्छ । यस्ता गलत प्रवृत्ति हटाउने हो भने तीजको सामाजिक महत्व अत्यन्त ठूलो छ ।

सांस्कृतिक महत्व
मान्छे जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्काे विशेषता बन्दैछ ।

तीजमा गीत–संगीतको विशेष महत्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दु:ख, ईष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् । चुल्हो–चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन । टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । यद्यपि तीजको संस्कृति अन्य जात वा समुदायका महिलामा पनि प्रवेश गर्नु राम्रो कुरा हो ।

तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरुको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ ।

पारम्परिक महत्व
हिमालयपुत्री पार्वतीबाट  सुरु भएको मानिने तीजको परम्परा निकै पुरानो छ । हरितालिका तीजको व्रत पवित्र मन–बचनका साथ बस्दा अविवाहितले चिताएको वर पाइने तथा विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता छ । त्यस्तै हरितालिका तीजको व्रत सकिएपछि मनाइने पञ्चमीको परम्परागत महत्व भने फरक छ । चाहे विवाहित हुन् वा अविवाहित सम्पूर्ण नारीले यो दिनलाई आफ्ना लागि मनाउँछन् । पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि जान–अञ्जानमा भए–गरेका कायिक, वाचिक एवं मानसिक गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ ।

यो दिनलाई महिलाको रजस्वलासँग प्रत्यक्ष जोडेर हेर्ने परम्परा छ । युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् भने विवाहित प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भूलवश छोइएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गर्छन् । तीज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ ।

सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि  यसको आस्था र महत्व उत्तिकै छ । अनदीको लट्टे, तिलको छोप हालिएको करेलाको अचार आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई व्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खानेजस्ता परम्परागत संस्कार हाम्रो छ ।

जति पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ त्यति अरूले गरेको देखेर प्राप्त हुँदैन । पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एकदिन भए पनि मीठो–मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले  रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय पर्व हो जसको पर्खाइमा उनीहरू व्यग्र हुन्छन् ।

हरितालिका तीज पर्व २०८१ काे सबैलाई शुभकामना ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्