पोखरा । राउटे समुदाय अहिले गण्डकी प्रदेशमा छन् । साे समूदायकाे प्रमुख पर्व बडा तिहार मनाउनका लागि उनीहरुले चन्दा संकलन गरिरहेका छन् । राउटेहरू नेपालका एक विशेष आदिवासी समूदाय हुन् जसको जीवनशैली जंगलमा आधारित छ ।
राउटे समुदायको मुखिया शेर बहादुर रासकोटीले चन्दा संकलन अभियान केवल तिहार मनाउने कुरा नभई आफ्नो सांस्कृतिक पहिचानको रक्षा र समृद्धि हासिल गर्ने यात्रा रहेकाे बताए । उनले भने-‘हाम्राेे समुदायमा कुल २०० जना सदस्यहरू छाैं। जसको एकजुटता र सहकार्य हाम्राे बलियो सांस्कृतिक पहिचान हो।’

२०० जनाले धूमधामसँग तिहार मनाउने योजना उनले सुनाए । संकलित चन्दा र सहयोगसँगै उनीहरूले सांस्कृतिक परम्पराहरूलाई बचाउने र तिहारलाई परम्परागत रूपमा मनाउने तयारी गरेकाे उनकाे भनाई छ ।राउटे समूदायले प्रत्येक वर्ष मंसिर १२ गते बडा तिहार मनाउँछन।
राउटेहरु प्रायः साधारण, प्राकृतिक जीवन यापन गर्छन्, जहाँ तिनीहरूले वन्यजन्तु र प्राकृतिक संसाधनहरूबाट आफ्नो जीविका चलाउँछन्। राउटेहरूको एक अनौठो परम्परा भनेको उनीहरूले आफूले खान सक्ने कुरा बाँधेर खान्छन्, अर्थात्, जंगलबाट प्राप्त गरेका खाद्य पदार्थहरूलाई सुरक्षित गरेर राख्छन् र एकसाथ बाँडेर खाउँछन्।

अहिले चन्दा संकलन अभियानमा शेर बहादुर रासकोटी (मुखिया), गंगा शाही (मुखिनी), खेमराज शाही, बन्धाविर शाही, सुकिधर शाही, कृष्ण बहादुर शाही, र न्यान पलास शाही जस्ता प्रमुख सदस्यहरूको नेतृत्वमा गण्डकी प्रदेशका विभिन्न स्थानमा चन्दा संकलन गरिरहेका छन् ।
साे समूदायले अहिलेसम्म पाेखरा महानगरपालिकाबाट २१ हजार रुपैयाँ, गण्डकी प्रदेशको अर्थ मन्त्रालयबाट १५ हजार रुपैयाँ, सामाजिक तथा भौतिक मन्त्रालयबाट ७ हजार रुपैयाँ, र पत्रकारहरूबाट पनि केही सहयोग प्राप्त गरेका छन् । यसका साथै, गण्डकी प्रदेशका जिल्लास्तरीय प्रशासन कार्यालय (CDO) हरु बाट पनि व्यक्तिगत रूपमा सहयोग जुटाइरहेका छन्।

राउटे समुदायका सदस्यहरूका लागि यो चन्दा संकलन अभियान केवल तिहार मनाउने कुरा होइन् । यो उनीहरुकाे सांस्कृतिक परम्परा र समृद्धि को रक्षा गर्ने प्रयास पनि हो। उनीहरूको परम्परा अनुसार, तिनीहरूले एकसाथ खाना बाँडेर, साधारण तर रमाइलो तरिकाले पर्व मनाउँछन्, जसले गण्डकी प्रदेशका अन्य समुदायहरूसँग सम्बन्ध सुदृढ गर्ने र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्नेछ।











