नेसनल प्याब्सन कास्कीकाे १४ ओैं खेलकुद महोत्सव मंसिर २२ गतेदेखि

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ, नेपाल (नेसनल प्याब्सन), कास्कीले “विद्यालय तहमा खेलकुदसहितको शिक्षा” भन्ने नाराका साथ १४ ओैं नेसनल प्याब्सन खेलकुद महोत्सव–२०८१ आयोजना गरेकाे छ।

मङ्सिर २२ गतेदेखि पोखरा रंगशालामा सुरु हुने यो महोत्सवको औपचारिक उद्घाटन मङ्सिर २५ गते युवा तथा खेलकुद मन्त्री तेजुलाल विश्वकर्माले गर्नेछन् । चार दिनसम्म सञ्चालन हुने महोत्सव मङ्सिर २८ गते समापन हुने शनिवनर आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिईयाे ।

आयाेजकले पत्रकार सम्मेलनमा रनिङ्ग शिल्ड र लोगो पनि सार्वजनिक गरेकाे छ ।

महोत्सवमा कास्की जिल्लाका ४६ विद्यालयका करिब ८,५०० विद्यार्थी सहभागी हुनेछन्। प्रतियोगितामा फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, ह्यान्डबल, टेबल टेनिस, एथलेटिक्स र ५ किमी म्याराथनजस्ता खेलहरू समावेश छन्।

सहभागी विद्यार्थीहरूलाई कक्षा १ देखि १२ सम्म दुई फरक समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ। करिब ९२९ विद्यार्थीले स्वर्ण, रजत र कांस्य पदक जित्ने अवसर पाउनेछन्।

विद्यालय तहमा खेलकुदसहितको शिक्षालाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूको शारीरिक, मानसिक, र सामाजिक विकासलाई सघाउने महोत्सवको मुख्य उद्देश्य रहेकाे आयाेजकले जनाएमाे छ। साथै, महोत्सवले अनुशासन, आत्मविश्वास, र खेलकुदको महत्वप्रति सकारात्मक दृष्टिकोण विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छ।

यस महोत्सवका लागि पोखरा महानगरपालिका खेलकुद समिति, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सहकार्य गर्नेछन्। आयोजकले कार्यक्रम सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छन्।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको संयोजकत्वमा २१ सदस्यीय मुख्य आयोजक समिति र १२ वटा उपसमितिहरू गठन गरिएको छ।

आयोजकले महामारीपछिको सहक्रियात्मक शिक्षालाई पुनःसक्रिय बनाउन र खेलकुदप्रति विद्यार्थीको आकर्षण बढाउन यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्