पोखरा । असहाय बाल उपकार संघले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । २०५८ सालमा काठमाण्डौंमा स्थापना भएको यस संस्थाले पोखरा २५ हेमजा, खोरियातरामा बालगृह सञ्चालन गरेको छ ।
शनिवार पोखरा २५ हेमजामा भएको कार्यक्रममा सामाजिक लेखापरिक्षक तथा कार्यक्रमका सहजकर्ता निकिता कोईरालाले बालगृहको आर्थिक, भौतिक, शैक्षिक तथा समग्र व्यवस्थापकीय क्रियाकलापको जानकारी गराईन् ।
उनले गत आर्थिक वर्षमा संस्थाले ७ लाख २२ हजार ४ सय २६ रुपैयाँ बचत गरेको उल्लेख गरिन् । बालगृहले आश्रित बालबालिकालाई शिक्षा, स्वास्थ्य, अतिरिक्त क्रियाकलाप साथै बालबालिकालाई व्यवहारिक ज्ञान दिएको उनको भनाई छ ।
सफा र शान्त वातावरणमा संस्थाको आफ्नै भौतिक संरचना रहेको, भान्साकोठामा खानाको दैनिक तालिका टाँसिएको,कर्मचारी, पदाधिकारी र बालबालिकाले पालना गर्नुपर्ने आचारसंहिता टाँसिएको, बालबालिकालाई नियमित तेक्वान्दो प्रशिक्षण, बालबालिकामा मेलमिलापको भावना रहेको तथा समूदायसँग सकरात्मक सम्वन्ध रहेको जस्ता सवल पक्षहरु अनुगमनका क्रममा भेटिएको उनको भनाई छ ।
यसका अतिरिक्त आश्रित बालबालिकाले बालगृहमा पारिवारिक वातावरणमा पोषणयुक्त खाना, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, अतिरिक्त क्रियाकलाप, भ्रमण लगायतका सम्पूर्ण पक्षहरुमा आफूहरु सन्तुष्ट रहेको बताउनुले पनि संस्थाका काम कारबाही र सम्पूर्ण गतिविधिहरू सवल र पारदर्शी रहेको सामाजिक लेखापरिक्षक निकिताले उल्लेख गरिन् ।
संस्थाका धेरै राम्रा पक्षहरु हुदाहुदै पनि समयमै नवीकरण गर्न नसक्नु कमजोरी रहेको उनको भनाई छ । उनले संस्थाको नवीकरण गरी संस्थाको दिगोपनाका लागि रणनीतिक योजना बनाई कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्न सुझाव दिईन् ।
यसका साथै पुनस्थापना कार्ययोजनालाई व्यवस्थित तरिकाले निर्माण तथा कार्यान्वयन गर्ने , संस्थाका डकुमेण्टेशन थप चुस्त र दुरुस्त राख्ने, वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकालाई मात्र संस्थामा भर्ना गर्ने साथै सरोकारवाला निकायबाट आएका सुझावहरुलाई कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।
बालगृहमा हाल ४ जना कर्मचारीहरु पूर्णकालिन रुपमा कार्यरत छन् तर आश्रित बालबालिकाअनुसार कर्मचारी संख्या कम भएको उनको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले असहाय बालबालिकाको अधिकारको संरक्षण र संवद्र्धन लागि संस्थाले अनवरत रुपमा गरेको अनुकरणीय कार्यको प्रशंसा गरे ।
उनले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थासँग वडा सधैं सहकार्य गर्न तयार रहेको बताए । पोखरा २५ का वडाध्यक्ष समेत रहेका तिम्सिनाले बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक गतिविधिको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका सामाजिक महाशाखाका निर्देशक निर्मला शर्माले बालबालिकाको क्षेत्रमा काम गर्न त्यति सहज नभएको बताउँदै तिन दशक अघि स्थापना भएको संस्थाले कुनै पनि गुनासो गर्ने ठाउँ नदिईकन काम गर्न सुझाव दिईन् । उनले असहाय बालबालिका छनौट गर्दा मापदण्डभित्र पर्ने बालबालिकालाई आश्रय दिनुपर्ने तर व्यस्त आमाबुवाका बच्चाहरुलाई आश्रय दिन नहुने उनको भनाई राखिन् ।
राष्ट्रिय बाल अधिकार परिषद्, गण्डकी प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्लेले कुनै पनि बालबालिकका बालअधिकारबाट बञ्चित हुन नहुने उल्लेख गरे । उनले संस्थालाई लिगल पाटोबाट सञ्चालन गर्न सुझाव दिदै संस्थाको सुरक्षण कोषमा ५ प्रतिशत राख्न स्मरण गराए । जसले गर्दा कुनै वेला दातृ निकायबाट सहयोग रोकिएमा सुरक्षण कोषमा भएको रकमले संस्था सञ्चालन गर्न सकिने उनको भनाई छ ।
पोखरा महानगरका बालकल्याण अधिकारी बेलकुमारी गुरुङ्गले बालगृह सञ्चालन मापदण्ड निर्देशिका अनुसार बालगृह सञ्चालन गर्न सुझाईन् ।
नमो बुद्ध दुधेखर्क टोल विकास समितिका अध्यक्ष लक्ष्मण वि.कले बालगृहमा आश्रित बालबालिकालाई आफ्नै छोराछोरीलाई जस्तै माया, ममता र लालनपालन गरी शिक्षादिक्षा दिएकोमा सञ्चालक टिमप्रति आभार व्यक्त गरे ।
तर, असहाय बालबालिकाहरुलाई आश्रय दिएको क्षेत्रमा बाटो र बत्तिको असुविधाका बालबालिकाले हिडडुल गर्दा सधैं दुख भोग्नुपरेकोमा चिन्ता व्यक्त गरे । साथै उनले सो क्षेत्रमा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा फोहोरमैलाले वातावरण प्रदुषित भएको जानकारी गराए । जुन समस्या समाधानको लागि सरोकारवाला निकायसँग उनले आग्रह गरेका छन् ।
ग्रीन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय न्युरोडका रिकभरी तथा मार्केटिङ हेड सन्युत्ता धाख्वाले समाजका असहाय बालबालिका लागि असहाय बाल उपकार संघले गरेको उपकारको प्रशंसा गरे ।
कार्यक्रमका सभाध्यक्ष असहाय बाल उपकार संघकी कार्यसमिति सचिव रेजिना श्रेष्ठ जोशीले संस्थाको गतिविधिको पारदर्शीताका लागि सामाजिक परीक्षण गर्नु अपरिहार्य रहेको बताईन् । जसले गर्दा सरोकारवाला निकायबाट आउने सवल र दुर्वल पक्षबाट संस्थालाई अझै परिस्कृत गराउँदै लैजान सकिने उनको भनाई छ । कार्यक्रमबाट आएका सुझावहरुलाई आफूहरुले ग्रहण गरेर अगाडी बढ्ने उनले प्रतिवद्धता जनाईन् ।
असहाय बाल उपकार संघ, बालगृह शाखा कार्यालय पोखरा २५ हेमजाका प्रमुख कार्यकारी अधिकृत कृष्णमान श्रेष्ठले कार्यक्रमबाट प्राप्त सुझावहरुलाई आत्मसात गर्दै आगामी दिनहरुमा कमीकमजोरीहरु सुधार गरेर अगाडी बढ्ने बताए ।
बालगृहमा आश्रित १५ जना (बालक ७ जना र बालिका ८ जना) बालबालिकामध्ये कक्षा ११ मा अध्ययनरत प्रिया सुनारलाई संस्थाले शनिवार विदाई गरेको छ । अवदेखि गृहमा १४ जना बालबालिकाहरु आश्रित हुनेछन् । यस बालगृहबाट हालसम्म १२७ जनाले आश्रय लिएर पुर्नस्थापना भईसकेका छन् ।
बालगृहकी शिक्षिका शिक्षिका तथा प्रशिक्षक सकुन्ता पाण्डेले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्वीकृति श्रेष्ठ र साहिल गुरुङले गरेका थिए भने अर्थचा कुईकेल, छोयासाङ तामाङ र कृची श्रेष्ठले नृत्यमार्फत मनोरञ्जन गराएका थिए ।