
काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव अझै कायम रहे पनि काठमाडौं उपत्यकामा ठूलो वर्षाको सम्भावना कम भएको मौसमविदहरूले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हालको वर्षा प्रणाली काठमाडौंबाट सर्दै कोशी प्रदेशतिर पुगेको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार उपत्यकासहित बागमती प्रदेशमा प्रणाली कमजोर भइसकेकाले अब ठूलो पानी पर्ने संकट टरेको हो ।
उनका अनुसार अहिले सक्रिय पानी पार्ने प्रणाली कोशी प्रदेशतिर केन्द्रित छ । सोही प्रभावका कारण पाँचथर, इलाम, झापा हुँदै चतरासम्मको तराई भूभागका धेरै ठाउँमा भारीदेखि धेरै भारी वर्षा भएको छ ।
‘आज पनि इलामदेखि कोशी प्रदेशको तराईका केही ठाउँमा आइसोलेटेड रूपमा भारी वर्षा हुन सक्छ,’ अर्यालले भने, ‘तर दिउँसोपछि त्यो पनि क्रमशः कमजोर हुँदै जाने देखिन्छ ।’
गत २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा भएको विभागले जनाएको छ । सबैभन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५१ मिलिमिटर मापन गरिएको छ ।