सामाजिक अध्ययन मञ्च कास्कीद्वारा प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षण कार्यशाला सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सामाजिक अध्ययन मञ्च कास्कीको आयोजनामा आधारभूत तह (कक्षा ८) स्तरीय प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यशालामा सामाजिक अध्ययन विषयको महत्त्व र आन्तरिक मूल्यांकनका विभिन्न प्रक्रियाका विषयमा प्रकाश पारिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले मूल्यांकनको प्रभावकारीता र सामाजिक अध्ययन विषयको व्यवहारिक पक्षबारे चर्चा गर्दै विद्यालय तहमा यसका प्रभावकारी कार्यान्वयनका उपायहरूबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी सिर्जना माध्यमिक विद्यालयका प्राचार्य तथा पोखरा महानगरपालिकाका शिक्षा समिति सदस्य डोलराज पाण्डेले सामाजिक अध्ययन मञ्च कास्कीले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

मञ्चका अध्यक्ष गोविन्द काफ्लेको सभापतित्वमा सम्पन्न कार्यशालामा मञ्चका सचिव तिलक काफ्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष तथा प्रशिक्षक नारायणी गौतमले सहजीकरण गर्नुभएको थियो। यस कार्यशालामा पोखराका करिब ६० जना शिक्षक-शिक्षिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा मञ्चका संस्थापक अध्यक्ष सुर्यबहादुर गुरुङ र निवर्तमान अध्यक्ष दिनेश अर्यालले प्रश्नपत्र निर्माण तथा उत्तरकुन्जिका प्रयोगबारे विस्तृत सहजीकरण गर्नुभएको थियो। शिक्षकहरूको क्षमता अभिवृद्धि तथा मूल्यांकन प्रक्रियालाई सरल र वैज्ञानिक बनाउने उद्देश्यले आयोजित कार्यशालामा सहभागीहरूले महत्वपूर्ण जानकारी हासिल गरेको बताएका छन्।

यस अवसरमा मञ्चको नयाँ आजीवन सदस्यता लिने शिक्षक-शिक्षिकाहरूलाई पनि विशेष सम्मान तथा स्वागत गरिएको थियो। सामाजिक अध्ययन मञ्च कास्कीले आगामी दिनमा पनि यस्ता व्यावहारिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्