पोखरा लेडी जेसीज सप्ताह: सीप, सेवा र सचेतना अभियान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

‎पाेखरा । पोखरा लेडी जेसीज ले ‘सीप र सेवाः सफल व्यक्ति, सुदृढ समाज’ भन्ने मूल नाराका साथ जेसीज सप्ताह मनाउने भएको छ। वैशाख २५ गते शुक्रबारदेखि ३१ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्थाकी कार्यकारी उपाध्यक्ष तथा सप्ताहकी मूल संयोजक विनिता के.सी.ले जानकारी दिइन्।

‎संस्थाले हरेक वर्ष व्यक्तित्व तथा नेतृत्व विकाससँगै सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष दिगो विकास लक्ष्यलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, कृषि तथा सामाजिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने संयाेजक के.सी.काे भनाई छ ।

कार्यक्रमअनुसार वैशाख २५ गते पोखरा महानगरपालिका–३ स्थित कन्या क्याम्पस सभाहलमा उद्घाटन समारोहसँगै साइबर अपराध तथा बैंकिङ साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरिनेछ, जसमा छात्रा विद्यार्थीहरू सहभागी हुनेछन्।

वैशाख २६ गते मादी गाउँपालिका–६ स्थित श्री महारुद्र माध्यमिक विद्यालयमा बिहान ८ बजेदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ।

‎ वैशाख २७ गते पोखरा–२० मा माइन्युट लेखन तथा वित्तीय साक्षरता तालिम आयोजना गरिनेछ, जसमा विभिन्न संघ–संस्थाका पदाधिकारीहरू सहभागी हुनेछन्।

त्यसैगरी, वैशाख २८ गते पोखरा–१९ मा कृषकहरूका लागि कृषि स्वास्थ्य सचेतना तालिम तथा मल वितरण कार्यक्रम हुनेछ।

‎वैशाख २९ गते पोखरा–३० मा लेखा व्यवस्थापन तथा उद्घोषण तालिम सञ्चालन गरिनेछ, जसमा संघ–संस्थाका कोषाध्यक्ष र सचिवहरूको सहभागिता रहनेछ। सोही दिन आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई विद्यालय पोषाक पनि वितरण गरिनेछ।

वैशाख ३० गते पोखरा–२५ मा प्रजनन स्वास्थ्य तथा बाँझोपनसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिनेछ। सप्ताहको अन्तिम दिन वैशाख ३१ गते लेकसाइडस्थित विजिवि रिसोर्टमा निःशुल्क शिविर तथा समापन समारोह सम्पन्न गरिनेछ।

कार्यक्रममा संस्थाकी अध्यक्ष सुनिता गौतम भण्डारीले समाजप्रति सबैको समान उत्तरदायित्व रहेको उल्लेख गर्दै युवाहरूको सक्रिय सहभागितामार्फत सामाजिक रूपान्तरणलाई अघि बढाउने लक्ष्य रहेको बताइन्।

‎महासचिव सिर्जना आलेले कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्। कोषाध्यक्ष रेजिना कटुवालले शिक्षा, स्वास्थ्य, कृषि तथा वित्तीय साक्षरता क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको जानकारी दिइन्। कार्यक्रमको अन्त्यमा सामुदायिक विकास क्षेत्रकी डा. नमिता अधिकारीले धन्यवाद व्यक्त गरिन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्