पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनको आठौँ स्थापना दिवसका अवसरमा क्लब स्थापनामा योगदान पुर्याउने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्लबका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक एक्जुकेटिभ लायन कृष्ण श्रेष्ठ (रोजी) लाई सम्मान गरिएकाे छ ।
लायन्स इन्टरनेशनल ३२५ आई, नेपालअन्तर्गत गण्डकी एरिया रिजन–२५, जोन–५१ मा सक्रिय क्लबले शुक्रबार पाेखरामा स्थापना दिवस मनाएको हो।
सामाजिक सेवामा समर्पित हुने उद्देश्यले २०७६ असोज १० गते २० जना महिला सदस्यबाट स्थापना भएको क्लबमा हाल २० जना स्थायी सदस्य आबद्ध छन्।
क्लबका २०२६/२७ का अध्यक्ष लायन लक्ष्मी शाह न्यौपानेले क्लबले स्थापनाकालदेखि सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताइन्।
कार्यक्रममा डिस्ट्रिक चिफ कोर्डिनेटर लायन रहमोहन सुबेदीले वास्तविक खुशी अरूको जीवनमा मुस्कान ल्याउँदा, पीडामा साथ दिँदा र निस्वार्थ भावले सेवा गर्दा प्राप्त हुने बताए। दृष्टिवपहिन बालबालिकालाई सहयोग गर्ने, बिरामीलाई रगत उपलब्ध गराउने तथा विपन्न परिवारलाई राहत प्रदान गर्नेजस्ता सेवाबाट आत्मसन्तुष्टि प्राप्त हुने उनको भनाइ थियो।
रिजन चियरपर्सन लायन माधवप्रसाद भण्डारीले लायनिज्ममार्फत गरिने सेवा सामाजिक दायित्वसँगै आत्मिक आनन्दको माध्यम भएको बताए। प्रतिस्पर्धात्मक र तनावपूर्ण समाजमा सेवामार्फत सकारात्मक ऊर्जा र खुशी बाँड्ने संस्कारको विकास गर्नुपर्ने उनले बताए।
लायन्स क्लबको २०२६/२७ वर्षको डिस्ट्रिक्ट थिम ‘Caring By Sharing’ अर्थात् ‘हामी सेवा गर्छौं’ रहेको छ। कार्यक्रममा जोन चेयरपर्सन लायन विजयालक्ष्मी खड्काले स्वागत गरे भने सञ्चालन क्लबकी सचिव लायन लक्ष्मी शर्माले गरिन्।








