पोखरा वडा नम्वर ६ मा करिव ३३ लाख रुपैयाँ बराबरको लाइट जडान गरिदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ६ मा उज्यालो वैदाम अन्तर्गत करिव ३३ लाख रुपैयाँ बराबरको लाइट जडान गरिने भएको छ । शनिवार वडाद्धारा आयोजित नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वडा नम्वर ६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले दशैं अघि पहिलो चरणमा ८ लाख र दशैं पछि दोस्रो चरणमा २५ लाखको गरी ३३ लाख रुपैयाँ बरावरको लाइट जडान गरिने बताए ।

पोखराको वडा नम्वर ६ महानगरको अन्य वडाभन्दा पर्यटकीय हिसावले बढी महत्वपूर्ण रहेको बताउँदै बाहिर मात्र हैन वैदाम (लेकसाइड) भित्र पनि खुल्ला छ भन्ने पहिचान दिनको लागि र सबै पर्यटकहरुको सहजता र सुरक्षाका लागि प्रत्येक स्ट्रिटमा लाइट जडान गर्न लागिएको उनको भनाई छ । साथै वैदामका सबै बाटोहरु पिच गर्ने योजना रहेको उनले सुनाए ।

उनले नाकाबन्दी र कोरोना कहरबाट भर्खर माथि उठ्न लागेको पर्यटन व्यवसायलाई पहिलेकै अवस्थामा फर्काउन र समग्र वडा नम्वर ६ स्मार्ट बनाउनका लागि आफू दृढ संकल्प सहित लागि परेको बताए ।

यसैविच उनले लेकसाइड धेरै घट्ना घट्न सक्ने सम्भावित क्षेत्र मानिएको हुनाले सुरक्षा सतर्कताका लागि ३६० डिग्री मोडलका सिसि क्यामरा पनि छिट्टै जडान गर्ने उल्लेख गरे । वडाध्यक्ष भट्टराईले फेवातालको संरक्षण गर्न र अतिक्रमण रोक्न सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने र कानुनसम्वत अदालतको फैसलाको पालना गर्नुपर्नेमा जोड दिए । साथै उनले असोज २५ मा फेवातालको वृहत सरसफाई हुने र उक्त कार्यक्रममा ३३ वटा वडाका जनप्रतिनिधि र सरोकारवाला निकायको सवैको उपस्थिती रहने जानकारी पनि दिए ।

कार्यक्रममा शुभकामना दिदै वडाका जेष्ठ नागरिक तथा पूर्व वडाध्यक्ष ९० वर्षीय होमबहादुर लामिछानेले वडाको विकासको लागि सबैले हातेमालो गरेर एकजुट हुनुपर्नेमा जोड दिए । कार्यकममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी,खहरे टोल विकास संस्थाका उपाध्यक्ष गणेश पहारी, एमाले वडा कमिटी सचिव उमा भण्डारी, अन्नपूर्ण आमा समूहका अध्यक्ष रेणु लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधी, पर्यटन व्यवसायी, टोल विकास संस्था, आमा समूहका प्रतिनिधि, समाजसेवी स्थानिय लगायको उपस्थिती रहेको कार्यक्रमको वडा नम्वर ६ का वडा सचिव रामबहादुर खत्रीले सञ्चालन र स्वागत वडा सदस्य वासुदेव बराल गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्