पोखरा ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूलाई बुधवार एक कार्यक्रमका बिच सम्मान सहित जितको शुभकामना व्यक्त गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल पदाधिकारी, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङ लगायतको उपस्थितिमा १५० बढी खेलाडीहरूलाई सम्मान सहित शुभकामना व्यक्त गरिएको हो ।
महानगर खेलकुद विकास समितिले आयोजनामा गरेको उक्त कार्यक्रममा खेलाडीहरूलाई शुभकामना दिँदै प्रमुख आचार्यले प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी नगद सहित सम्मान गरिने जानकारी दिए । “ यस प्रतियोगितामा सहभागी हुने खेलाडी साथीहरूलाई जितको अग्रिम शुभकामना छ, उच्च मनोबलका साथ आफ्नो खेल कौशल अनुशासन पूर्वक प्रस्तुत गर्नुहोला, उनले भने तपाईहरुले कुनै पनि खेल वा विद्यामा पदक प्राप्त गर्ने बित्तिकै महानगरपालिकाको तर्फबाट विशेष पुरस्कार प्रदान गर्ने व्यवस्था समेत हामीले गरेका छौँ ।” पोखरा महानगरपालिका खेलाडीहरूको साथमा रहेको उनले बताए ।
पोखरा महानगरवासी खेलाडीहरूको नेतृत्वमा गण्डकी प्रदेशले प्रतियोगिताको ऐतिहासिक ट्रफी माथि आफ्नो नामको इतिहास कोर्ने विश्वास समेत प्रमुख आचार्यले व्यक्त गर्नुभयो । “नेपाली खेलकुदको इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले १० किलो चाँदी र २ ताेला सुनको सुन्दर ट्रफी निर्माण गरेको छ, हाल त्यो नेपाल प्रहरीको सुरक्षामा प्रदेश प्रहरी कार्यालयमा राखिएको छ, उनले भने, प्रतियोगिताको समापनमा प्रधानमन्त्रीको हातबाट यो ट्रफी विजेता प्रदेशलाई प्रदान गरिने छ, त्यो प्रदेश गण्डकी बनोस्, मेरो शुभकामना छ ।” गण्डकी प्रदेशको तर्फबाट प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूले सबैभन्दा धेरै पदकहरू हत पार्नेमा आफू विश्वस्त रहेको प्रमुख आचार्यले बताए ।
३९ वर्ष पछि पोखरामा हुन गइरहेको यस प्रतियोगितामा पोखरा महानगरपालिकाका २ सय बढी खेलाडीहरूको सहभागिता रहने महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । उनका अनुसार ती खेलाडीहरूले २६ बढी खेलहरूमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश (तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र) मा भएको थियो ।










