शिक्षामा नीतिगत स्पष्टता,कार्यान्वयनमा तत्परताः सांसदहरुको प्रतिवद्धता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । वैदेशिक अध्ययनलाई व्यवस्थित बनाउनको लागि शिक्षामा नीतिगत स्पष्टता, कार्यान्वयनमा तत्परता हुनुपर्ने निश्कर्ष निस्किएको छ ।

‘शिक्षामा नीतिगत सुधारको गन्तव्य पहिचान तथा नयाँ आयामको खोजी (Policy Reforms in the Education System  Navigating Challenges and Fostering Innovation) विषयक इक्यानको शैक्षिक वहस कार्यक्रममा दोस्रो सेसनका प्यानालिष्टहरुसँगको छलफल पछि यस्तो निश्कर्ष निस्किएको हो ।

सेसनमा प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, प्रदेश सभा सदस्य गण्डकीका सरस्वती गुरुङ, विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) गण्डकी प्रदेशका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारीसँग सञ्चारकर्मी जगदिश खरेलले सहजीकरण गरेका थिए ।

प्रतिनिधि सभा सदस्य गुरुङले संसदमा अहिले शिक्षा ऐन दर्ता भएको र छिट्टै उच्च शिक्षा ऐन संसदमा दर्ता हुने क्रममा रहेको जनाए । ‘देश विकासका क्रममा छ । आवश्यक कुरा सदनमा पु¥याउन म तयार छु,’ गुरुङले भने । उनले नेपाल र नेपालीको हितका लागि नीति निर्माणमा कुनै कसुर बाँकी नराख्ने उद्घोष गरे ।

 विदेश गएर विकसित देशका कुरा नेपालमा ल्याउन सके सबैभन्दा ठूलो विकास त्यहीँ हुने प्रदेश सभा सदस्य गण्डकीका सरस्वती गुरुङकाे तर्क छ । ‘उच्च शिक्षा ऐन संघले पनि बनाउने चरणमा छ भन्ने सुनिन्छ । हामी प्रदेश सभामा पनि यस्ता आवश्यक ऐन यही कार्यकालमा बनाउँछौं,’ उनले भनिन् । तर प्रदेश सरकार केन्द्र सरकारकै हावी भएको कारण चाहेको कामहरु गर्न नसकेको उनले दुखेसो समेत पोखिन् ।

विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) गण्डकी प्रदेशका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारीले सरकारले उच्च शिक्षामा नियमन हैन सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा इक्यान कास्कीको निवर्तमान अध्यक्ष इभिन्द्रराज तिवारी, विद्यार्थी सम्पूर्ण जि.सी., रुद्र गिरी लगायतले जिज्ञासा राखेका थिए ।

पेशालाई मर्यादित बनाउँदै गुणस्तरमा ध्यान दिनुपर्ने इक्यान कास्कीका अध्यक्ष  रमेश थापाले बताए ।

कार्यक्रम मार्फत बैदेशिक अध्ययनको सकारात्मक प्रभाव बुझाउने कोशिस गरेको इक्यान कास्कीका उपाध्यक्ष तथा कार्यक्रम संयाजक सन्तोष शाहीले बताए ।

कार्यक्रम सञ्चालक तथा इक्यान कास्कीका सचिव कमल बरालले गुणस्तरीय शिक्षा सम्वन्धी बहसको लागि इडियु थ्री सिक्स्टी (EDU360) इनोभेटिभ कार्यक्रम बन्ने विश्वास व्यक्त गरे ।

परामर्श व्यवसायीहरुको अतिरिक्त यस कार्यक्रममा विद्यार्थी, अभिभावक यस क्षेत्रसँग सरोकार राख्ने २०० भन्दा बढीको उपस्थिति रहेको थियो ।

विगतका वर्षहरुमा शैक्षिक मेला गर्दै आएको इक्यान कास्कीले यो वर्ष शुक्रवारे राष्ट्र निर्माणका लागि अन्तराष्ट्रिय शिक्षा (Global Education for Building the Nation) सम्वन्धी थिममा रहेर ‘इडियु थ्री सिक्स्टी’ (EDU360) कार्यक्रम गरेको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्