वन निर्देशनालयद्धारा सिद्ध बराह माविमा वृक्षारोपण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । वन निर्देशनालय गण्डकी प्रदेशले पोखरा २३ मा रहेको सिद्ध बराह मावि मा वृक्षारोपण गरेको छ । विश्व वातावरण दिवसको अवसरमा बुधवबार निर्देशनालयले विद्यालयमा धुपी, गोलमोहर लगायतका ३० वटा विरुवाहरु रोपेको हो ।

औपचारिक कार्यक्रमका प्रमुख अतिथि पोखरा २३ का वडाध्यक्ष रामकाजी गुरुङले वातावरण प्रदुषणले जनजीविका तथा जीवजन्तुमा पारेको र पार्ने असरबारे बताउँदै वातावरण संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड लिए । साथै उनले गत चैत वैशाखमा डढेलोबाट भएको प्रदुषण, मानव स्वास्थ्य,अन्य जीवजन्त,वोटविरुवामा परेको असरको पनि उदाहरण सुनाए ।

वन निर्देशनालय गण्डकी प्रदेशका वन निर्देशक रामकाजी श्रेष्ठले बन्द कोठामा गरिएका कार्यक्रमले भन्दा फिल्डमा गरिने कार्यक्रम जानकारीमूलक र प्रभावकारी हुने भएकोले भविष्यका कर्णद्धार विद्यार्थीहरुसँगै वृक्षारोपण गरी वातावरण संरक्षणको विषयमा जानकारी दिनु तथा वातावरण जोगाउन सचेत गराउनु नै आफूहरुको उद्देश्य रहेको बताए । विद्यालयमा नै वृक्षरोपण गरेको देखेका विद्यार्थीहरुले वातावरण संरक्षण गर्नुपर्छ भन्ने कुरामा स्पष्ट ज्ञान लिनेमा उनको विश्वास छ ।

वातावरण संरक्षणबाट हुने फाईदा र वातावरण संरक्षण नगर्दा हुने वेफाईदाका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएपछि विद्यालय, टोल, छरछिमेकमा पनि यसको विषयमा जनचेतना पुग्ने निर्देशक श्रेष्ठको भनाई छ ।
कार्यक्रममा स्वागत गर्दै वन निर्देशनालयका वरिष्ठ वन अधिकृत घनेन्द्रराज खनालले प्रत्येक वर्ष जुन ५ मा मनाईने विश्व वातावरण दिवसको महत्वको बारेमा बताए । उनले संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको उल्लेख गरे । विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ ।
‘जमिनको पुनस्थापना, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास’ भन्ने नारासहित जनजीविका र स्वास्थ्य प्राकृतिक वातावरणका लागि स्वस्थ जमिनको आवश्यकता पर्ने, बढ्दै गरेको मरुभूमीकरणलाई रोक्न थप प्रयास गर्नुपर्ने तथा खानेपानीको अभावलाई सम्बोधन गर्नुपर्ने विषयलाई यस वर्ष बढी महत्व दिइएका उनले स्पष्ट पारे ।

उनले विश्व वातावरणको दिवनमा नेपालमा कतै वृक्षारोषण, सरसफाई, सान्दर्भिक विषयमा प्रवचन , वातावरण संरक्षणसँग सम्वन्धी विभिन्न प्रतियोगिता लगायतका कार्यक्रम गरेर यो दिवस मनाउने बताए । उनले सकेसम्म स्रोतको कम प्रयोग गर्ने, पुन प्रयोग गर्ने र रिसाईकल गर्ने (थ्रि आर प्रिन्सिपल) पनि सुनाए ।

सिद्ध बराह मावि का प्राचार्य वद्रीनाथ पराजुलीले विद्यालयमा रोपिएका विरुवाहरुको संरक्षण गर्ने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्