पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले सार्वजनिक सेवा प्रवाहमा कर्मचारीहरूको भूमिका, ट्रेड युनियन अधिकार र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल निजामती कर्मचारी युनियन नेपाली कांग्रेस निकट कर्मचारीहरुको संस्था रहेपनि युनियनमा आवद्ध कर्मचारीहरुले पनि पार्टी विशेषको भन्दा मुलुक र जनताको हित हुनेगरी काम गर्न आग्रह गरे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री पाण्डेले आफू नेतृत्वको सकारले विश्वासको मत पाएको खण्डमा सीमित साधन, स्रोतका बाबजुद कर्मचारीहरूको वृत्ति विकासका लागि नीति कार्यक्रम र बजेटमा सम्भव भएसम्म सम्वोधन गर्ने जानकारी दिए ।
उनले सरकार र शक्ति भन्दा पनि नैतिकता र संवैधानिक विषय ठुलो हुने भएकोले आफुले यही जेठ २८ गते विश्वासको मत लिन लागेको बताए ।
सर्वोच्च अदालतको परमादेशबाट यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सत्ताका लागि जे गरेपनि हुन्छ भन्ने मान्यता विपरीत प्रजातान्त्रिक मूल्य, मान्यता र जनताको अभिमत अनुरूप नै आफूले यही जेठ २८ गते विश्वासको मत लिन लागेको स्पष्ट पारे ।
उनले भने “केहि साथीहरुले अध्यादेशबाट बजेट ल्याउनुपर्छ भनेका थिए तर मैले प्रजातान्त्रिक मूल्य र मान्यताअनुरूप जनताको अभिमतको कदर गर्दै बजेट ल्याउनु पहिले नै विश्वासको मत लिने निर्णय गरेको हुँ, नेपाली कांग्रेसले सत्ताका लागि जे पनि गर्छ भन्नेहरुलाई यो निर्णयले गतिलो सन्देश दिनेछ ।” उनले थपे–“सरकारलाई विश्वासको मत प्राप्त हुनेछ भन्नेमा पनि मा विश्वस्त छु ।’’
नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले प्रदेश निजामती ऐन पारित भएपछि धेरै कर्मचारीलाई न्याय भएको बताउँदै सङ्घीय निजामती ऐन पास गर्न आबश्यक पहल गरिदिन आग्रह गरे । उनले राष्ट्रसेवक कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन पनि माग गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, गण्डकी प्रदेश अध्यक्ष दिपक रेग्मी, युनियनका महासचिव जनक रावल, उप महासचिव इन्दु शर्मा, केन्द्रीय सदस्य चित्रा ढकाल र कास्कीका पूर्व अध्यक्ष रामजी कोईराला लगाएतले बोलेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी, प्रशासन विज्ञ बाबुराम आचार्य, युनियनका केन्द्रीय उपाध्यक्ष पुरण गुरुङ, उपमहासचिव गङ्गालाल पोखरेल लगायतले सार्वजनिक सेवा प्रवाहमा कर्मचारीहरूको भूमिका, ट्रेड युनियन अधिकार र नेतृत्व विकाससम्वन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा युनियनको कास्की जिल्ला उपाध्यक्षद्वय केदार सापकोटा र सीता बरालका साथै सचिव सुमन शर्माले संस्थाका गतिविधि बारेमा जानकारी गराएका थिए ।