
तारा पौडेल/पोखरा । डिभिजन वन कार्यालय कास्कीले वर्षेनी निःशुल्क रुपमा विरुवा वितरण गर्दै आएको कार्यक्रम यो वर्ष असार १६ गते आईतवारदेखि शुरु गर्ने भएको छ । विरुवा वितरण पोखराको मेहेन्द्रगुफामा रहेको कार्यालयको नर्सरीबाट हुनेछ । विरुवा नसकिएसम्म वितरण कार्य जारी रहने कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय कास्कीले यस वर्ष डालेघाँस र बहुवर्षीय विरुवाहरु ४० हजार र जडिबुटिका विरुवाहरु ३५ हजार गरि ७५ हजार विरुवाहरु निःशुल्क वितरण गर्ने डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरिप्रसाद गौतमले बताए । उनका अनुसार यस वर्ष राईखन्यु, निमारो, वडहर, कोईरालो, मट्मासे, म्यानडोला, इपिल इपिल, वकाईनो, चाँप, चिउरी, कल्की, अमला, कटहर, मेवा, लप्सी, मसला, टिकिमा, धुपी, म्याड. गो स्टिक ,विरेन्द्रफुल, कुरिलो साथै वेल, अमला, तेजपात, निम, शितलचिनि, (मोरिङ्गा) चिउरी, लप्सी, टिमुर, वेल, आदि प्रजातिका जडिबुटी तथा डालेघाँसका लगायतका विरुवाहरु पाउन सकिन्छ । निःशुल्क रुपमा प्राप्त गरिने विरुवाहरु संघसस्था, समुह, शैक्षिक क्षेत्र तथा व्यक्तिहरुले लैजान सक्नेछन् ।
वन अधिकृत गौतमले भने-‘नेपालमा शहरीकरण बढ्यो । गाउँघरका जग्गा त्यतिकै बाँझा छन् । त्यसमा बिरुवा लगेर रोप्दा हरियाली बढ्छ । वातावरण सफा हुन्छ । गाईभैंसीलाई घाँस पनि भएको हुन्छ । वृक्षारोपणले बाढीपहिरो रोकथाम लागि सहयोग पनि पुग्छ । तसर्थ वन कार्यालयले वर्षेनी निःशुल्क विरुवा वितरण गर्ने गर्छ ।’
उनले विरुवा लिन आउने व्यवसायीहरुलाई नाङ्गा डाडाहरुमा दिर्घकालीन योजना बनाएर रुख रोप्नुका साथै निजी जग्गामा पनि रुख रोप्न आग्रह गरे ।
प्रदेश र संघीय सरकारको आर्थिक सहयोगमा वन कार्यालयले निःशुल्क रुपमा वितरण गर्ने विरुवा उत्पादन गर्ने गर्छ ।