
पाेखरा ।
पाेखरा महानगरभित्र याे वर्षकाे दशैंकाे टिकाको दिन निशुल्क बसकाे सुविधा हुने भएको छ ।
पोखराका विभिन्न स्थानमा व्यानर सहितको १८ वटा सार्वजनिक बसमार्फत फरक–फरक रुटमा निशुल्क बस सुविधा हुनेछ । याे सुविधा दशैंकाे टिकाकाे दिन विहान ७ वजेदेखि अपराह्न ४ वजेसम्म मात्र हुनेछ ।
टिकाको दिन थोरै मात्रमा सवारीसाधन चल्ने नेपालका विभिन्न स्थानबाट आएर बसोबास गरेको र स्थानीय सहित धेरै जनसंख्या बसोबास गर्ने भएकाले उनीहरुलाई सहजताका लागि निशुल्क रुपमा सार्वजनिक वस सेवा दिन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र यातयातका विभिन्न व्यवसायी कम्पनीसँग सहकार्य गरी, यात्रुहरुलाई सेवा दिन लागिएको बुधवार आयाेजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
जसमध्ये पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले तीन वटा बस मार्फत फेदी देखि हेम्जा, हरिचोक हुँदै, लखन चोकसम्म सेवा दिनेछ ।
स्थानीय यातायात कम्पनीले कोत्रेदेखि लखनचोक, चिप्लेढुंगा र बागलुङ बसपार्क सम्मको सेवा दिनेछ भने, पोखरा यातायात प्रालिले ३ वटा रुटमा ३ वटाका दरले ९ वटा सवारीसाधन मार्फत सेवा दिने बताईएकाे छ ।
पोखरा यातायात प्रालिले लामाचौर, बगर, महेन्द्रपुल, विरौटा, छोरेपाटन र महेन्द्रगुफा, महेन्द्रपुल, चिप्लेढुंगा हुँदै लेकसाइड साथै काहुँखोला देखि हल्लन चोकसम्म सेवा दिनेछ ।
बेगनास पोखरा यातायात प्रालिले दुई वटा रुटमा दुई वटाका दरले ४ वटा सवारी मार्फत सेवा दिनेछ भने, बेगनास ताल, तालचोक, लखनचोक र बागलुङ बसपार्क, साथै राजाको चौतारा, सातमुहाने, खुदी हुँदै बागलुङ बसपार्कसम्म सेवा दिनेछ ।
उक्त दिन बसका चालक, सह–चालकका लागि पोखरा महानगरपालिकाले भत्ता उपलब्ध गराउने र जिल्ला प्रशासनले सहजिकरण, व्यवसायीहरुले आफ्ना गाडी निःशुल्क रुपमा चलाउने अधिकारी पाण्डेले जानकारी दिए ।
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका यातायात व्यवस्थापन उपसमितिका उपाध्यक्ष तथा पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले राम्रो कामको सुरुवात गरिएको र यसलाई निरन्तरता पाउने अपेक्षा गरे ।
राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न र समाजिक उत्तरदायित्व बहनका लागि टिकाको बेला बस सेवा सुरु गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष एवं यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसीले बताए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शाेभामोहन पौडेलले १५० लिटर डिजल उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
आफ्नाे कम्पनीको तर्फबाट ९ वटा बस सञ्चालन गरिने र बस आवश्यक परेको अवस्थामा थप्न सकिने पोखरा यातायात प्रालिका प्रवन्धक देवि कुइकेलले जानकारी दिए ।