
पोेखरा ।
जहाज दुर्घटनामा ज्यान गुमाएका पोखरा २५ हेमजा निवासी छोरा राजन सापकोटा र बुहारी अनिषा बाँनिया सापकोटाको स्मृतिमा परिवारले अक्षयकोष स्थापना गरेका छन् ।
सापकाेटा परिवारले हेमजाको धार्मिक पर्यटकीय स्थल विष्णुपादुका माईस्थान मन्दिरमा रु.२ लाख २ हजार दुई सय २२ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
स्व. राजन सापकाेटा स्व.सुरथबहादुर सापकाेटा र सीता सापकाेटाका कान्छा छाेरा हुन् भने स्व.अनिषा बाँनिया सापकाेटा बुहारी हुन् ।
अक्षयकोषको रकम सापकोटा परिवारले विष्णुपादुका मन्दिरमा नवदूर्गाको अवसरमा जारी श्रीमद्देवी भागवत पाठ पारायण कथा प्रवचन कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चुडामणी तिम्सिनालाई मंगलवार हस्तान्तरण गरेका हुन् ।
यसका साथै सापकोटा परिवारले विष्णुपादुका माईस्थान मन्दिरमा स्पिकर खरिदको लागि १५ हजार रुपैयाँ पनि सहयोग गरेको छ ।
सापकोटा दम्पतीको पोखरामा २०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएको थियो ।
डिभी परेर अमेरिका बस्दै आएका राजनले दुर्घटनाको एक वर्ष अगाडी मात्र विवाह गरेका थिए । विवाहको पहिलो वार्षिकोत्सव मनाउन पुस ३० नेपाल आएका उनलाई लिन श्रीमती अनिषा काठमाडौँ गएकी थिईन् ।
पोखरा फर्किने क्रममा उनीहरू चढेको विमान अवतरणका क्रममा विमानस्थल नजिक सेतीखोँचमा दुर्घटनामा परेको थियो । यती एयरलाइन्सको सो विमान दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाएका थिए ।