राष्ट्रिय भलिवल प्रतियोगिता प्रत्यक्ष प्रसारणको जिम्मा हाम्रो खेलकुदलाई

  • ख-
  • ख+

सामाजिक तथा खेलकुदको क्षेत्रमा कृयाशिल संस्था टाइगर गु्रप अफ नेपालको आयोजनामा हुने “प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता”को प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ ।

उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि आयोजक संस्था र हाम्रो खेलकुदका विच सम्झौता भएको प्रतियोगिता प्रचार प्रसार समितीका संयोजक राम कृष्ण ज्ञवालीले जानकारी दिएका हुन । प्रत्यक्ष प्रसारण वापत हाम्रो खेलकुदले आयोजकलाई १ लाख नगद उपलव्ध गराउने भएको छ ।

प्रत्यक्ष प्रसारणका लागि भएको सम्झौता अनुसार हाम्रो खेलकुदले सामाजिक संजाल फेसबुक र युटुयुब मार्फत खेलको प्रसारण गर्ने भएको हो । हाम्रो खेलकुदले आयोजकलाई नगद ५० हजार र ५० हजारको खेल सामाग्री गरि १ लाख उपलव्ध गराउने भएको प्रचार प्रसार समितीका संयोजक ज्ञवालीले बताए । उनले भने–“पोखरामा आयोजना हुने फुटबल लगाएतका खेलमा

टेलीभिजनहरुले प्रत्यक्ष प्रसारणको ‘राइट्स’ किनेको थाहा भए पनि भलिवलको भने पहिलो पटक प्रत्यक्ष प्रसारणका लागि यो सम्झौता हुनु सुखद पक्ष हो यसले आयोजकको मनोबल बढाएको छ ।”

पोखरा रंगशालामा माघ २७ गते देखि फागुन १ गते सम्म सञ्चालन हुने प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नुका साथै पोखराको खेल गतिविधी बारे समेत समाचार संकलन गर्ने हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमिल्सिनाले बताएका छन । उनले भने–“कोभिड १९ महामारी पछि खेलकुद गतिविधी वढ्दै गएको बेला हाम्रो संस्थाले पोखरामा हुने भलिवल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने पाएका छौं यसले खेलाडी सँगै खेलकर्मीहरुको मनोबल बढाउने काम गर्नेछ ।”

राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्डको सहभागिता रहने छ । यसै गरि पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र गण्डकी प्रदेशको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितिय हुनेले ७५ हजार तथा तृतियले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरि सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्नेछन । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने भएका छन ।

कुल २५ लाख अनुमानित खर्च हुने जनाइएको उक्त प्रतियोगितामा ३० लाख वचत हुने गु्रपका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन । प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने उनले बताए । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय तोकिएको छ भने सेमीफाइनलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय तोकिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्