
पोखरा। कास्की प्रहरीले स्कुटर चोरी तथा आगजनीमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये सात जना १३ देखि १६ वर्ष उमेर समूहका बालक रहेका छन् भने २० वर्षीय दिनेश गुरुङ मुख्य अभियुक्तको रूपमा रहेका छन्।
चैत १३ गते राति पोखरा महानगरपालिका–२० भलामस्थित एक घर अगाडि पार्किङ गरिएको ग ११ प ७५३७ नम्बरको स्कुटर चोरी भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। चैत १६ गते पोखरा–१६ लामाचौरस्थित माथिल्लो दीप क्षेत्रमा ग ८ प ५४२९ नम्बरको स्कुटर शंकास्पद अवस्थामा चलाइरहेका दुई जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रारम्भिक सोधपुछमा ती बालकले उक्त स्कुटर चैत १४ गते राति हल्लनचोकबाट चोरी गरेको स्वीकारेका थिए।
अनुसन्धान अघि बढ्दै जाँदा उनीहरूले पुराना मोडलका स्कुटर चोरी गर्ने, केही दिन चलाएर छोड्ने गरेको खुलेको छ। थप अनुसन्धानका क्रममा विभिन्न स्थानबाट १० वटा चोरी भएका स्कुटर फेला परेको कास्की प्रहरीले जनाएको छ।
पक्राउ परेका दिनेश गुरुङसहित पाँच जनाले भलामबाट चोरी भएको स्कुटर नागथान क्षेत्रमा लगी प्रयोग गरेका थिए। तीन दिनपछि स्कुटर बिग्रिएपछि डाँडा कटेरीमा लगी ट्यांकीमा आगजनी गरेको खुल्न आएको छ।
पक्राउ परेका आठै जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पोखरामा पछिल्लो समय सवारीसाधन चोरीका घटना बढ्दै गइरहेका छन्। प्रहरीले आम नागरिकलाई सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न र शंका लागेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।