
पोखरा । काठमाडौंमा अवैध सुन र चाँदीको कारोबारमा संलग्न ९ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले सूचनाको आधारमा जोरपाटी, कपन र चावहिलका विभिन्न सुन रिफाइनिङ एण्ड टंच सेन्टरहरूमा खानतलासी गर्दा १,०७६.५१८ ग्राम सुन, १८,०४५.५२९ ग्राम चाँदी, ८ लाख २७ हजार ५०० नेपाली रुपैयाँ र ११,७०० भारतीय रुपैयाँ बरामद गरेको छ।बरामद सुनको बजार मूल्य १७ करोड १० लाख ६० हजार र चाँदीको ३० लाख ९ हजार ९१ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै भारतको महाराष्ट्रका बासिन्दा हुन्, जसमा नबनाथ बाकु कसीद (३० वर्ष, गोकर्णेश्वर-५, जोरपाटी), सन्दिप पोपट हजारे (२० वर्ष, गोकर्णेश्वर-५, जोरपाटी), अन्सार दिलावर सिकल्गार (२२ वर्ष, चावहिल), सुरज राजेश मदने (१८ वर्ष, चावहिल), अरमान हनिफ ईनामदाय (२१ वर्ष, बूढानीलकण्ठ-१२), मनोज सुभाष सकट (२२ वर्ष, बूढानीलकण्ठ-१२), अमोल कुमार गोस्ले (३८ वर्ष, काठमाडौं-७), सुनिल मिटकरी (२० वर्ष, चावहिल) र सुरज नन्दीवाली (२० वर्ष, चावहिल) रहेका छन्।
खानतलासीका क्रममा जोरपाटीबाट ६७४.८२८ ग्राम सुन, ६,००९.५९ ग्राम चाँदी, ४ लाख १९ हजार ११५ नेपाली रुपैयाँ र ११,७०० भारतीय रुपैयाँ, कपनबाट १९१.८२० ग्राम सुन, ७,६४०.२४४ ग्राम चाँदी र ३,३८५ नेपाली रुपैयाँ, तथा चावहिलबाट २०९.८७ ग्राम सुन, ४,३९५.६९ ग्राम चाँदी र ४ लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको छ।
प्रहरी उपरीक्षक अपील राज बोहराले यो कारबाही अवैध कारोबारविरुद्धको अभियानअन्तर्गत भएको बताए। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग, हरिहर भवन, ललितपुर पठाइएको छ।
यो घटनाले काठमाडौंमा अवैध धातु कारोबारको गहिरो जालो रहेको संकेत गरेको छ, र प्रहरीले अन्य संलग्न व्यक्तिहरूमाथि निगरानी तीव्र पारेको छ।