
पोखरा । पृथ्वीनारायण (पिएन) क्याम्पस, पोखराका उपप्राध्यापक डा. देवीलाल शर्मालाई विद्यार्थीमाथि जातीय विभेद र गालीगलौज गरेको आरोप लागेपछि व्यवस्थापन अनुसन्धान विभागको प्रमुख पदबाट हटाइएको छ। क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले मंगलबार उनलाई विभागीय प्रमुखको जिम्मेवारीबाट हटाइएको जानकारी दिए।
आरोप अनुसार पूर्वी नेपालको औद्योगिक अवलोकन भ्रमणका क्रममा उपप्राध्यापक शर्माले एमबिए फाइनान्स अध्ययनरत विद्यार्थी अमन परियारलाई जातीय आधारमा अपमानजनक शब्दहरू प्रयोग गरेका थिए। सिन्धुलीको कमलामाईमा गाडी बिग्रिएपछि गाडी मर्मत गर्ने विषयमा विद्यार्थीले प्रश्न गर्दा उपप्राध्यापक शर्माले जातीय विभेद गरेको भन्दै अमनले क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनमा उजुरी दिएका थिए।
दलित विद्यार्थी समाज, पृथ्वीनारायण क्याम्पसले जारी गरेको विज्ञप्ति अनुसार डा. शर्माले अमनलाई “दमै गुको लेडो, जात नभएको” भन्दै अपशब्द प्रयोग गरेका थिए। साथै “दमैले जात जनायो, विशाल दमैको संगतले दमैनै भयो, त दमै के गर्न सक्छस् गर” भन्दै जातीय आधारमा अपमान गरेको आरोप लगाइएको छ।
विद्यार्थीले यस विषयमा आपत्ति जनाउँदा उपप्राध्यापक शर्माले “शैक्षिक प्रमाण पत्र पोखरामा नबिक्ने, पोखराबाट नै गायब गर्छु, लोकसेवाको कपि मैले जाँच्ने हो तलाई जान्या छु, लगाई तलाई कहीँ न कतैको बनाईदिन्छु” भन्दै धम्की समेत दिएको दलित विद्यार्थी समाजको विज्ञप्तिमा उल्लेख छ।
पीडित विद्यार्थी अमनसहितको टोली मंगलबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो। कास्की प्रहरी प्रवक्ता हरि बस्नेतले घटनाबारे आफूहरूलाई जानकारी गराइएको र जाहेरीमा आकर्षित हुन सक्ने कानुनबारे जानकारी दिएर पठाएको बताए।
पृथ्वीनारायण क्याम्पस दलित विद्यार्थी समाजका अध्यक्ष अमृत विकले जारी गरेको विज्ञप्तिमा उपप्राध्यापक शर्मालाई क्याम्पसबाट तत्काल बर्खास्त गर्न माग गरिएको छ। उनले यस्ता घटना पृथ्वीनारायण क्याम्पसमा पहिलो पटक नभएको उल्लेख गर्दै “क्याम्पसले कुनै पनि कदम नचालेमा हामी जस्तोसुकै कदम चाल्न बाध्य हुनेछौं र त्यसको जवाफदेही क्याम्पस प्रशासन नै हुनुपर्नेछ” भन्दै चेतावनी दिएका छन्।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति विष्णु पोखरेलले पनि उपप्राध्यापक शर्मामाथि हदैसम्मको कारबाहीको माग गरेका छन्। “क्याम्पसजस्तो शैक्षिक स्थलमा प्राध्यापकबाट नै जातीय विभेद हुनु आपत्तिजनक विषय हो,” पोखरेलले भने।
तराई कानुन विद्यार्थी मञ्च, पोखराका अध्यक्ष रामबाबु दासले पनि विज्ञप्ति जारी गर्दै उपप्राध्यापक शर्मालाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरेका छन्।
यसैबीच क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले उपप्राध्यापक डा. शर्मालाई व्यवस्थापन अनुसन्धान विभागको प्रमुख पदबाट हटाइएको जानकारी दिए। हटाउनुको कारणमा भने उनले ‘विशेष परिस्थितिका कारण जिम्मेवारीबाट हटाइएको’ मात्र उल्लेख गरेका छन्।