✍️ हेमन्त गिरी ।
दुई थान गोडाको लय मिलाउँदै
पुग्ने गर्थें विद्यालय-
कलिलो ज्यान भित्र
कहाँ कहाँ हात पुर्याउँथ्यो
गुरु नामको अधर्मीले !
गोडाहरुको चाल नै बिग्रिथ्यो
घर फर्किने बेला !
केही थान सपनाहरुको लय मिलाउँदै
पुग्ने गर्थें कार्यालय !
छाती, नाभी र नितम्बमा
हर प्रहर आँखा लगाउँथ्यो
हाकिम नामको हरामीले !
मुटुको चाल नै रोकिन्थ्यो
पंख फैलाउने बेला !
कैयौं मीठा बातले फुस्लाउँथ्यो
कैयौं सुनौला आसले फकाउँथ्यो
कहिले काँधमा हात राख्थ्यो
र
‘भरोसा दिएको हुँ’ भन्थ्यो !
कहिले कम्मरमा हात पुर्याउँथ्यो
र
आधार दिलाएको दावी गर्थ्यो !
कैयौं घामहरु संग सेकायो
कैयौं झरीहरु संग रूझायो
पट्यार लाग्ने गरी कुरायो
प्रेमको प्रतीक्षालयमा
र
एक दिन कानैमा आएर फुस्फुसायो
प्रेमी नामको पापी पनि-
मलाई तिम्रो योनी सित्तैमा देऊ न !!
चेतनाले न्यायालय पुर्यायो
जहाँ सोधियो-
परेली किन झिम्क्याइस् ?
ओंठहरु किन चलाइस् ?
कम्मर किन लच्काइस् ?
गोडा किन फट्टाइस् ?
स्तन किन उमारिस् ?
योनी किन लुकाइस् ?
लय हराउँदै गए पछि जिन्दगीको
आज यहाँ आएकी छु-
जहाँ कसैले कुनै प्रश्न सोध्दैन
जहाँ कसैले कुनियतले छुँदैन
जहाँ विवसताको फाइदा उठाउँदैन कसैले
जहाँ विस्वासको जालमा पारी काँचै खाँदैन कसैले !
यहाँ अलिकती मूल्य पाएको छ शरीरले
अलिकती इज्जत पाएका छन अंगहरुले
यहाँ अलिकती स्थान पाएको छ आत्मसम्मानले !
हो, यो त्यही ठाउँ हो
तपाईंको भाषाको- वेश्यालय
मेरो भाषाको-
लयहरुको अन्तिम याचनालय !
र
आज युग संग एउटा ललकार गर्नै पर्छ मैले
हजार ‘कोठी’ हरुमा
एउटा ‘लय’ प्रत्यय जोडेर
युगौं देखि हुन्डरी मच्चाइरहेछ
तपाईंको सभ्य समाजमा
एउटा असभ्य लिंङग-प्रलय !!
सक्नुहुन्छ- निर्मूल पार्नूस्
विद्यालय,कार्यालय,प्रेमालय
न्यायालय र प्रार्थनालय बाट
अहंकारी,ढोंगी र पाखन्डी
यो सनातनी लिङग अधिपत्य !
सक्नुहुन्न- टोलटोलमा खोलिदिनूस्
केही लाख वैध वेश्यालय !!
यस्तो दिन नआओस्
सृष्टि र सभ्यतालाई नै कुनैदिन
स्थायी बन्ध्याकरण गर्नु परोस् !!
साभार: ✍️ हेमन्त गिरीकाे फेसबुकबाट