बागमती, गण्डकी र लुम्बिनीमा भोलिदेखि खोप कार्यक्रम

  • ख-
  • ख+

काठमाडौं । सरकारले भोलि (मंगलबार)देखि तीनवटा प्रदेशमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले भोलि (मंगलबार)देखि नै खोप सञ्चालन गर्ने निर्णय भएको बताए ।

मन्त्रीस्तरीय निर्णय बमोजिम नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबारदेखि खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद सम्झौता भएको मध्ये ८ लाख खोप शुक्रबार काठमाडौं आएसँगै सरकारले खोप अभिायन सञ्चालन गर्न लागेको हो । सरकारले ४० लाख खोप खरिदका लागि सिनोफार्मसँग ‘नन किस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत बाँकी खोप ल्याउने सरकारको योजना छ ।

खोपको उपलब्धता बढेसँगै खोप अभियान कार्यक्रमलाई निरन्तरता दिइने र अन्य प्रदेशमा पनि छिट्टै खोप कार्यक्रम सञ्चालन हुने डा. पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

खोप भण्डारण शाखा प्रमुख बडेबाबु थापाका अनुसार लुम्बिनी प्रदेशका लागि १ लाख १४ हजार र गण्डकी प्रदेशका लागि १ लाख १२ हजार खोप पठाइसकिएको छ । यसैगरी बागमती प्रदेशको मकवानपुर, सिन्धुली र चितवनका लागि ८२ हजार डोज खोप हेटौंडा पठाइएको उनले बताए ।

‘भोलिबाट खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने काम भइसकेको छ । खोप सञ्चालनका लागि कहाँ कति वटा सेन्टर राख्ने भन्ने कुरा प्रदेश र जिल्लास्तरीय खोप समन्वय समितिलाई नै निर्णय गर्ने अधिकार दिएका छौं,’ डा. गौतमले भने ।

भेरोसेल खोप क–कसले पाउँछन् ?

डा. पौडेलका अनुसार भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइने छ ।

विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्