हिमाल, पर्यावरण र पर्यटनका लागि पोखरामा १०औं पर्वतीय महोत्सव सुरू

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । १०औं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ। नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको यो महोत्सव तीन दिनसम्म चल्नेछ।

कार्यक्रमलाई उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनले नेपालका हिमाल र वातावरणमा गम्भीर असर पारेको बताउँदै अन्य देशले उत्पादन गरेको फोहोर र कार्बनको प्रत्यक्ष प्रभाव नेपालले झेल्नुपरेकोप्रति चिन्ता व्यक्त गरे।
उनका अनुसार बेमौसमी बाढी–पहिरो, प्राकृतिक चक्रब्यवस्थामा आएको अव्यवस्थासहित जलवायु संकटका चुनौतीबारे जनचेतना फैलाउन महोत्सव उपयोगी हुनेछ।

मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई अझ आकर्षक बनाउन प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै संग्रहालय नजिकै पार्क निर्माण र हर्पन खोलाको मुहानमा ‘सेल्फी ब्रिज’ बनाउने योजना अघि बढेको बताए।
उनका अनुसार “कति पर्यटक आए भन्नेभन्दा पनि कति खर्च गर्छन् भन्ने महत्वपूर्ण हो” भन्दै फेवा ताल वरिपरि पदमार्ग निर्माण र रुपा गाउँपालिकामा ग्रास ब्रिज निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको समेत जानकारी दिए।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले विकसित राष्ट्रले गरेको कार्बन उत्सर्जनको भारी मूल्य नेपालका हिमालले तिरिरहेका छन् भनेर टिप्पणी गरे।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जलवायु परिवर्तनका प्रभावले पर्यटक आगमनमा समेत कमी आएको उल्लेख गरे।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले जलवायु परिवर्तनले हिमाली जनजीवन, हिमताल र सम्पूर्ण पर्वतीय वातावरणमा परिरहेको प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण आवश्यक रहेको बताए।

पोखरा–१७ रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सुरु भएको महोत्सवमा पर्वतीय जनजीवन तथा आरोही सम्बन्धी डकुमेन्ट्री प्रदर्शनदेखि जलवायु परिवर्तनका मुद्दामा बहस–विमर्श हुने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन्।

महोत्सवमा हिमाल आरोहणका लागि आवश्यक उपकरण, दैनिक उपभोग्य सामग्रीदेखि विभिन्न पर्वतीय सेवासमेत प्रदर्शनीमा राखिएका छन्।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष इश्वरी पौडेल, महासचिव राजेन्द्र बहादुर लामा लगायत वक्ताहरूले नेपालका हिमाली भू–भाग, हिमताल र समग्र प्रकृति नै जलवायु संकटको गम्भीर जोखिममा परिरहेको भन्दै चिन्ता व्यक्त गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्