पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।
उनले पुस ३ गते दिउँसो १२ः२० बजे धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । धारिलो हतियार प्रहार गरि हत्या गरेछन्,उनले भने,‘हत्यापश्चात कानसमेत काटेर कानमा लगाएको गरगहना पनि लुटेर हिंडेका रहेछन् ।’
हत्या आरोपी आशिषलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई पोखरा महानगरपालिका वडा नं.–१० बुद्धचोकबाट पक्राउ गरिएको डिएसपी बस्नेतले बताए ।
उनको साथबाट लुटिएका गरगहनासमेत बरामद गरिएको उनले जानकारी दिए । उनका अनुसार आशिषको साथबाट सुनजस्तो देखिने पहेंलो रङको कानमा लगाउने २ थान रिङ, ७२ लालको साना मुन्द्राहरु ४ थान र घटनामा प्रयोग भएको बञ्चरो १ थान र १ थान चक्कु बरामद गरिएको छ ।
हत्या आरोपी आशिषलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको उनले जानकारी दिए ।









