पोउवा संघले दियो ४४० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले  मंगलबार पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा तथा लेखपढका सामग्री प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीसहित संघका अध्यक्ष गोकर्ण कार्की,पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनसहित संघका पदाधिकारी, कार्यसमितिका सदस्य एवं अतिथिहरुले सो विद्यार्थीहरुलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । किडासाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा र लेखपढका सामग्री प्रदान गरिएको हो ।

सामाजिक विकास केन्द्रले संचालन गरिरहेको जीविकोपार्जन तथा शिक्षा कार्यक्रमअन्तर्गत सहरी क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरिएको पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले छोराछोरीलाई विद्यालय पढाएरमात्र अभिभावकको दायित्व पूरा नहुने बताए ।

आफ्ना बालबालिकाले के गरिरहेका छन् भन्नेबारे जानकारी राख्न र असल मार्गमा लगाउँदामात्र राष्ट्रले असल नागरिक पाउने उनको भनाइ थियो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले स्थानीय सरकार तथा नागरिक समाजका सदस्यहरुको सहयोग पाए संघले  श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सहयोग गर्नसक्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघले विगत २५ वर्षदेखि सहरी क्षेत्रमा रहेका बालश्रमिक तथा घरेलु कामदार, उनीहरुका परिवारको हितका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्