काठमाडौं। नेपाली कांग्रेस ले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ मंगलबारदेखि सुरु गरेको छ। पार्टीका सभापति गगनकुमार थापा ले काठमाडौँ महानगरपालिका–३० मा आफ्नै सदस्यता नवीकरण गर्दै अभियानको शुभारम्भ गरेका हुन्।
अभियान सुरु गर्दै उनले सहयोग गर्न सक्ने सबैलाई सहयोग गर्न र नसक्नेले अवरोध नगर्न आग्रह गरे। विदेशमा रहेका, अशक्त वा आफ्नो स्थानमा पुग्न नसक्ने सदस्यका लागि विशेष व्यवस्था गरिने उनले बताए।
सभापति थापाले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइएको जानकारी दिँदै सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। उनले जिम्मेवार नेताहरूलाई नबुझेका विषयमा पार्टी कार्यालयमा आएर बुझ्न आग्रह गर्दै बाहिर अनावश्यक टिप्पणी नगर्न पनि चेतावनी दिए।
‘जरा अभियान’ मार्फत पार्टीले संगठन सुदृढीकरण, अनुशासन कायम र सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य लिएको छ। यो अभियान वैशाख मसान्तसम्म सञ्चालन हुनेछ।
अभियानअन्तर्गत क्रियाशील सदस्यता वडामै गएर नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। डिजिटल ‘कांग्रेस आइडी’ अनिवार्य गरिनेछ। नयाँ सदस्यता वितरणलाई सहज बनाइनेछ। सदस्यहरूको वैयक्तिक विवरण संकलन गरिनेछ।
सदस्यता अद्यावधिकका लागि फारम भर्ने, फोटो खिच्ने र ओटिपी (OTP) नम्बर अनिवार्य गरिएको छ। विगतमा अरूले सदस्यता नवीकरण गरिदिने प्रवृत्ति अन्त्य गर्दै सदस्यलाई स्वयं जिम्मेवार बनाउने उद्देश्य पार्टीले लिएको जनाएको छ।









