पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ को आय–व्यय सार्वजनिक गरेको छ। आइतबार आयोजित आय–व्यय सार्वजनिक तथा समीक्षात्मक छलफल कार्यक्रममा मञ्चले अवार्ड कार्यक्रमबाट ३४ लाख ७५ हजार ९३८ रुपैयाँ आम्दानी, २७ लाख ४ हजार ५२० रुपैयाँ खर्च भएको तथा ७ लाख ७१ हजार ४१८ रुपैयाँ बचत भएको जानकारी दिएको हो।
मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको दशौं संस्करण गत वैशाख ३१ गते पाेखरामा सम्पन्न भएको थियो। कार्यक्रममा हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ मुख्य प्रायोजक तथा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल सह–प्रायोजक रहेका थिए।
विसं २०७२ देखि निरन्तर आयोजना हुँदै आएको पोखरा स्पोर्ट्स अवार्डलाई यस वर्ष पनि गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायत विभिन्न स्थानीय तह, व्यावसायिक संस्था तथा सामाजिक संघ–संस्थाको सहयोग रहेको मञ्चले जनाएको छ।
यस्तै, खेल संस्था, व्यावसायिक प्रतिष्ठान, खेलाडी, खेलप्रेमी, पूर्वखेलाडी तथा विदेशमा रहेका नेपाली खेलप्रेमीहरूको आर्थिक सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको मञ्चले उल्लेख गरेको छ। आय–व्यय सार्वजनिक कार्यक्रममा सहभागीहरूले कार्यक्रमको समीक्षा गर्दै आगामी संस्करणलाई अझ प्रभावकारी र भव्य बनाउन सुझाव दिएका थिए।
मञ्चले अवार्डलाई सफल बनाउन आर्थिक तथा नैतिक रूपमा सहयोग गर्ने सबै प्रायोजक, सहयोगी संस्था, खेलकर्मी, खेलप्रेमी र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।









