भिटोफ गण्डकीद्वारा होमस्टे व्यवस्थापन तालिम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा एकदिने घरबास (होमस्टे) व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित धिताल सामुदायिक होमस्टेमा आइतबार आयोजित तालिममा ४५ जनाको सहभागिता रहेको भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालले जानकारी दिए ।
गाउँ पर्यटनको प्रभावकारिता अभिवृद्धिका लागि घरबास व्यवस्थापनसम्बन्धी ज्ञान र सीप आवश्यक रहेकाले तालिम आयोजना गरिएको अध्यक्ष अर्यालले बताए । ग्रामीण क्षेत्रमा पर्यटनको विकास तथा स्थानीय बासिन्दालाई दक्ष बनाउन भिटोफले आगामी दिनमा पनि विभिन्न तालिम सञ्चालन गर्ने उनले जानकारी दिए ।

तालिमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले घरबास व्यवस्थापनसम्बन्धी यस्ता तालिमले गाउँ पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै उनले नेपाली संस्कारमा ‘अतिथि देवो भवः’को परम्परा रहेको उल्लेख गरे ।

प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली, संस्कृति र आतिथ्य सत्कारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सके ग्रामीण क्षेत्रका पर्यटकीय गन्तव्यमा पाहुना आकर्षित गर्न सकिने पोखरेलको भनाइ थियो । पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने उनले बताए ।

माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले पालिकाभित्र गाउँ पर्यटनको पर्याप्त सम्भावना रहेको बताइन् । ग्रामीण पर्यटनलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै उनले प्राकृतिक तथा सांस्कृतिक सम्पदा र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोडेर रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् । पर्यटन प्रवद्र्धनका गतिविधिलाई पालिकाले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा संस्थापक अध्यक्ष तारानाथ पहारीले होमस्टे सञ्चालन भएका गाउँमा कृषि तथा पशुपालन क्षेत्रको विकासमा राज्यको ध्यान पुग्नुपर्ने बताए । होमस्टे र स्थानीय उत्पादनलाई जोड्न सके ग्रामीण पर्यटन थप प्रभावकारी बन्ने उनको भनाइ थियो ।

तालिममा प्रशिक्षकहरू टीकाराम सापकोटा, रवीन्द्रराज पौडेल, दीपेन्द्र पहारी र सीता चौधरीलगायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका–६ का वडाध्यक्ष टेकनाथ गौतम, नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यक्रम प्रमुख युवराज गुरुङ, भिटोफ गण्डकीकी निवर्तमान अध्यक्ष शोभा सापकोटा, उपाध्यक्ष विश्वराज अधिकारी र सचिव भीमराज पौडेललगायतले मन्तव्य राखेका थिए ।

तालिममा सहभागीहरूले होमस्टे सञ्चालन तथा आतिथ्य सत्कारसम्बन्धी नयाँ ज्ञान र सीप सिक्ने अवसर प्राप्त भएको बताउँदै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
भिटोफ गण्डकीले ग्रामीण क्षेत्रमा पर्यटनको विकास, स्थानीय उत्पादनको प्रवद्र्धन तथा स्थानीय बासिन्दालाई पर्यटनसम्बन्धी सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्