भारी वर्षा र सम्भावित विपद्को जोखिमः कास्कीका सम्पूर्ण विद्यालय असोज ८ र ९ गते बन्द हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। सम्भावित प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै कास्की जिल्लाका सम्पूर्ण विद्यालयहरू असोज ८ र ९ गते दुई दिनका लागि बन्द गरिने भएको छ।

​शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीले एक सूचना जारी गर्दै जिल्लाका ५ वटै स्थानीय तहहरूसँगको छलफल र समन्वय पछि विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको जनाएको छ। यो बिदालाई पछि बर्खे वा हिउँदे बिदाबाट समायोजन गरिनेछ।

​जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको छ।

​गण्डकी प्रदेश र विशेष गरी कास्की जिल्ला बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो तथा सडक अवरोधजस्ता विपद्को उच्च जोखिममा रहेकाले पूर्वतयारी स्वरूप यो कदम चालिएको इकाइ प्रमुख लोकनाथ आचार्यले जानकारी दिएका छन्।

​विपद्को जोखिमबाट बच्न इकाइले अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई जोखिमयुक्त क्षेत्र वा खोला-नदी किनारमा नजान र सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, आपत्कालीन अवस्थामा सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलको रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्