आज महानवमी पर्व,शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी मनाईंदै

  • ख-
  • ख+

पोखरा । बडादशैंको नवौँ दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ ।

घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन पोखराको विन्ध्यवासिनी, बागलुङको कालिका भगवती, काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका शक्तिपीठहरूमा बलि चढाउने भक्तजनहरूको आज बिहानदेखि घुइँचो लागेको छ ।

यसै गरी अन्य शक्तिपीठहरूमा उपत्यका बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, बाराको गढीमाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारा लगायतका शक्तिपीठमा शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

आज दशैंघर र कोतलगायत मुलुकको कुनाकाप्चामा रहेका विभिन्न देवीका मन्दिरहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती पाठ गरिन्छ ।

शाकाहारीहरूले कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ । अधिकांश ठाउँमा महाष्टमीको दिन दसैंघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन रहेको छ ।

पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेँडा र राँगाको पञ्चबलि पनि चढाइन्छ । यस पर्वमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ ।

महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ ।

यसैविच आज महानवमी पर्वको अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो ।

कतिपय समुदायले महाष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ–आफ्ना परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्