आज विजयादशमी,टीका लगाउने उत्तम साइत १० बजे र २ मिनेटमा

  • ख-
  • ख+

पोखरा । आश्विन शुक्ल दशमीको दिन आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ ।

घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ बजेर १९ मिनेटमा विसर्जन गरिने साइत छ । देवीको  प्रसाद लगाउन साइत खोज्ने का लागि बिहान १० बजे र २ मिनेटको  साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समिति अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

तर विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतया मानिसले साइत खोज्नु नपर्ने उनको भनाई छ ।

टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।

असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिईन्छ।

आफूभन्दा ठूलाबाट दशैंमा टीका जमरा थाप्दा ठूलाबडाले दुईथरी श्लोक भन्ने चलन छ ।

पुरुषहरूका लागि ‘आयुर्द्रोणसूते’ श्लोक उच्चारण गरिन्छ भने महिलाहरूका लागि ‘जयन्ती मंगला काली’ श्लोक उच्चारण गरिन्छ । पूर्ण श्लोक र त्यसको अर्थ तल दिइएको छ:—

आयुर्द्रोणसूते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसूते बलं हलधरे सत्यञ्च कुन्तीसूते
विज्ञानं विदूरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

अर्थ: द्रोणका छोरा अश्वत्थामाको जस्तो लामो आयु, भगवान् रामका पिता दशरथको जस्तो श्रीसम्पत्ति, भगवान् रामको जस्तो शत्रुपराजय, राजा नहुषको जस्तो ऐश्वर्य, पवन देवताको जस्तो तीव्र गति, दुर्योधनको जस्तो अभिमान, सूर्यका छोरा कर्णको जस्तो दानवीरता, हलधर भगवान् (कृष्णका दाइ बलराम)को जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यनिष्ठा, धृतराष्ट्रका मन्त्री विदूरको जस्तो ज्ञान, भगवान् नारायणको जस्तो यशकीर्ति तपाईंले प्राप्त गर्नुहोस् ।

“जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।”

अर्थ: जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध हे जगदम्बिके ! हजुरलाई मेरो नमस्कार छ ।

जयन्ती भन्नाले विजयशालिनी, मंगला भन्नाले भक्तहरूको जन्ममरणरूपी बन्धनलाई नष्ट गर्ने, काली भन्नाले प्रलयकालमा सबैलाई खाने, भद्रकाली भन्नाले भक्तहरूलाई सुख प्रदान गर्ने, कपालिनी भन्नाले हातमा नरमुण्ड धारण गर्ने, दुर्गा भन्नाले कठोर तपबाट बल्लबल्ल प्राप्त हुने, क्षमा भन्नाले करुणामय हुनाले भक्तहरूको अपराध क्षमा गर्ने, शिवा भन्नाले सबैको कल्याण गर्ने, धात्री भन्नाले सम्पूर्ण प्रपञ्चलाई धारण गर्ने, स्वाहा भन्नाले यज्ञभाग ग्रहण गरेर देवताहरूलाई पोषण गर्ने अनि स्वधा भन्नाले श्राद्ध र तर्पण स्वीकारेर पितृहरूलाई पोषण गर्ने देवी भनी बुझिन्छ ।

यसरी दशमीका दिन उच्चारण गरिने यी श्लोकहरूमा सुखमंगलको आशीर्वाद निहित हुन्छ । यस्ता आशीर्वचनले अग्रजको अनुजप्रतिको स्नेह दर्शाउँछ अनि अनुजको अग्रजप्रतिको श्रद्धा झल्काउँछ ।

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य बैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

यसैविच आज विहान सर्वसाधारणको दर्शनका लागि हनुमानढोका दरबार क्षेत्रको मूलचोक राखिएको तलेजु भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइृन्छ गराइछ।
खड्गयात्रा पनि यसै दिन गरिने छ। आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ। त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ।

दशैंका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दशैं पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

नेपाल अधिराज्यभर दशैँ महान पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक आपसमा जम्मा भई दशैँ मनाउने गर्छन् । यही पर्वका अवसरमा लामो समय सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्