ममता काफ्ले हत्या प्रकरण : पति नरेश भट्ट दोषी ठहर

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टी अदालतमा भएको सुनुवाइपछि जुरीले उनलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो।

करिब पाँच घण्टासम्म विचारविमर्श गरेपछि जुरीले मंगलबार साँझ फैसला सुनाएको थियो। फैसला सार्वजनिक भएसँगै नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ। उनको सजाय आगामी सन् २०२७ को मार्चमा निर्धारण हुने बताइएको छ।

मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले विभिन्न साक्षी र प्रमाण प्रस्तुत गरेको थियो। ममताकी निकट साथी तथा सहकर्मी सुनिता बस्नेत थापाले अदालतमा बयान दिँदै ममता आत्महत्या गर्ने स्वभावकी नभएको बताएकी थिइन्। उनका अनुसार ममताले कहिल्यै आत्महत्या गर्ने इच्छा व्यक्त गरेकी थिइनन्।

सुनिताले सन् २०२३ डिसेम्बरमा ममताको अनुहारमा चोटसमेत देखेको बयान दिएकी थिइन्। त्यस्तै, अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ र नरेशका पूर्वरूममेटलाई समेत साक्षीका रूपमा प्रस्तुत गरेको थियो।
अदालतमा अभियोजन पक्षले करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण पेस गरेको जनाएको छ। यता नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए।

सन् २०२४ मा ममता अचानक बेपत्ता भएपछि घटना सार्वजनिक भएको थियो। त्यसपछि सुरु भएको अनुसन्धानका क्रममा नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको आरोप लागेको थियो।

फैसलापछि ममताको परिवारले लामो समयदेखि भोग्दै आएको पीडा र न्यायको प्रतीक्षाबीच मुद्दाले महत्वपूर्ण मोड लिएको छ। अब सबैको ध्यान आगामी मार्चमा हुने सजाय निर्धारणतर्फ केन्द्रित भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्