युआरएल पत्रकारिता पुरस्कार बास्तोलालाई

  • ख-
  • ख+

पोखरा ।
युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ ।

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहेको प्रतिभा छनोट समितिको निर्णय अनुसार बास्तोलालाई पुरस्कृत गर्न लागिएको हो ।

समिति सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी थिए ।

विभिन्न संघ, संस्थाबाट पुरस्कृत एवं सम्मानित भइसकेका पत्रकार बास्तोला राष्ट्रिय समाचार समितिमा आवद्ध छन् । युआरएलको ८ औं वार्षिकोत्सवमा मंसिर २३ मा हुने समारोहमा पुरस्कार अर्पण गरिनेछ ।

स्वास्थ्य प्रयोगशालामा प्रदेशको अगुवाइ गरेको युआरएलले स्वास्थ्य सचेतनामा योगदान दिन पुरस्कार स्थापना र सञ्चालन गरेको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।

यो पुरस्कारबाट अहिलेसम्म पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्