यो वर्ष नराम्रो योग : राज्यका तर्फबाट स्वस्ति शान्ति गर्दा फाईदा हुने ज्योतिषको भनाइ

  • ख-
  • ख+

मूल नक्षत्र र षष्ठी तिथिमा विसं २०७७ शुरु भएकाले शास्त्रीय विधिअनुसार राज्यका तर्फबाट स्वस्ति शान्ति गर्नुपर्नेमा संहिताशास्त्रीले जोड दिएका छन् । वैशाख १ गते मूल नक्षत्र एवं षष्ठी तिथि पर्दा यमघण्ट योग बनेकाले मेदिनी ज्योतिषअनुसार बताइएको शान्तिको विधि गर्नुपर्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले राससलाई बताउनुभयो । मयूरचित्रकम् नामको ज्योतिष ग्रन्थमा षष्ठी तिथि र मूल नक्षत्रको योग पर्दा यमघण्ट योग हुने उल्लेख गरिएको छ । सोही ग्रन्थमा यसको दोष निवारणको विधि बताइएको पनि उहाँले बताउनुभयो ।

मुहूर्तमार्तण्ड र मुहूर्तचिन्तामणि नामक ज्योतिषग्रन्थमा पनि यो योगका विषयमा बताइएको छ । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय मूलको अन्तिम पाउको योग परेकाले धेरै क्षति हुने योग नभए पनि राज्यका तर्फबाट शान्ति गर्दा अझ राम्रो हुने बताउनुहुन्छ ।

ज्योतिषशास्त्र अनुसार यमघण्ट योग परिराख्ने भए पनि वर्षको पहिलो दिन सङ्क्रान्तिमै परेकाले बढी शक्तिशाली बनेको संहिताशास्त्री बाँस्तोलाको भनाइ छ । वर्षको ग्रहपरिषद् अनुसार बुध राजा र चन्द्रमा मन्त्री पदमा छन् । ज्योतिष शास्त्रअनुसार राजकुमार राजा र राजा मन्त्रीका रुपमा रहेकाले विश्व शासन व्यवस्थामा अविवेक उदय एवं महत्वाकाङ्क्षाका कारण प्रचारबाजीले स्थान पाउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको सूर्य पञ्चाङ्गमा उल्लेख छ ।

वर्षामा रोग फैलने, गाई, बाख्राजस्ता घरेलु चौपायाका साथै हात्ती, घोडा, ऊँटलगायत जनावरमा रोगको प्रकोप हुने समितिको सदस्य सचिवसमेत रहनुभएका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । बृहस्पतिका कारण बेसारलगायत पहेँला वस्तुप्रति सबैको रुचि बढ्ने छ । फलेश सूर्यका कारण पृथ्वीमा फल र फूल प्रशस्त उत्पादन हुनेछ । जगल्लग्न कुण्डलीअनुसार लग्नेश मङ्गल तृतीयस्थानमा बृहस्पति र शनिको साथमा मित्रगृही भएर बसेका कारण विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण फैलिएको सहप्राध्यापक पाण्डेय बताउनुहुन्छ । राजा रणबहादुर शाहका पालामा फैलिएको बिफरको महामारी र दोस्रो विश्वयुद्धका बेलासमेत यस्तै ग्रहयोग परेको ज्योतिषका पण्डितको विश्लेषण छ ।

बृहस्पति (गुरु) का कारण उचित वर्षा हुनाले धान आदि अन्नको प्रशस्त उत्पादन हुनेछ । दुग्ध पदार्थको उत्पादन समेत बढ्नेछ । नासपाती, अङ्गुरजस्ता फलको मूल्य सस्तो हुनेछ । बृहस्पतिका कारण व्यापारी वर्ग खुशी र सुखी हुनुका साथै व्यापारघाटा समेत घट्ने वर्षफल सूर्य पञ्चाङ्गले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्