वैदेशिक रोजगारी गुमाएर फर्किनेको लगत संकलन गर्दै रुपा गाउँपालिका

  • ख-
  • ख+

कोरोनाका कारण वैदेशिक रोजगारी गुमाएर फर्किएकाहरुलाई गाउँपालिकाभित्रै व्यवस्थापन गर्न सकिने गरी कास्कीको रुपा गाउँपालिकाले तिनीहरुको लगत संकलनको काम थालेको छ ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले उचित व्यवस्थापनको लागि पहिलो चरणमा अभिलेखको काम थालेको बताए । ‘कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि प्रभावकारी काम गरेका छौं,’ अध्यक्ष ओझाले भने, ‘रुपाका विदेशमा काम गर्ने नागरिकलाई समस्या परेर आएपछिको व्यवस्थापनका लागि योजना बनाएका छौं ।’

अध्यक्ष ओझाले रुपाबाट भारत, अमेरिका, साउदी अरब, युरोप लगायतका २५ मुलुकहरुमा १ हजार ७ सय ८३ नागरिक कामको लागि गएको जानकारी दिए ।
जिल्ला समन्वय समिति कास्कीले कोरोना भाइरसको कारण उत्पन्न समस्या र गाउँपालिकाले गरेको सेवा प्रवाहको बारेमा गरेको अनुगमनको क्रममा अध्यक्ष ओझाले वैदेशिक रोजगारीमा रहेका रुपाका नागरिकहरु फर्कन परेको खण्डमा गाउँपालिकाले व्यवस्थापन गर्ने योजना बनाएको बताए ।

अध्यक्ष ओझाले आवश्यक परेको खण्डमा ति नागरिकको व्यवस्थापनको लागि ३५ जनासम्म राख्न मिल्ने क्वारेन्टाइनको क्षमता विस्तार गर्ने उल्लेख गरे । अहिलेसम्म विदेशबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइन राखेको जानकारी दिँदै अध्यक्ष ओझाले क्वारेन्टाइन राखेका ५४ जनाको आरडिटी र १३ जनाको स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उल्लेख गरे ।
उनले गाउँपालिका भरीका स्वास्थ्य संस्थाहरु २४ सैं घण्टा खोलेर स्वास्थ्य सेवा प्रवाह गर्नुको अलवा रुपा गाउँपालिकामा स्वास्थ्य सेवा घरघरमा’ भन्ने नाराका साथ स्वास्थ्यकर्मीहरु ४ हजार १ सय घरधुरीमा पुगेर सबै नागरिकको पुगेर स्वास्थ्य परिक्षण गरेको जानकारी दिए । उनले नेपाल रेडक्रस सोसाइटी रुपा ५ देउराली उपशाखाको एम्बुलेन्स बिग्रीएको कारण गाउँपालिकाको गाडीले नै निशुल्क रुपमा एम्बुलेन्सको सेवा दिएको जनाए ।

अध्यक्ष ओझाले नियमित औषधी सेवन गर्ने ५सय ८६ दीर्घरोगका बिरामीलाई घरमा पुगेर सेवा दिएको बताए । उनले ५० वर्ष भन्दा माथीका जेष्ठनागरिकलाई १ हजार २सय सर्जिकल मास्क वितरण गरेको जनाए । गाउँपालिका भित्रका पशलहरुको अनुगमन गरी मुल्य सुची अद्यावधीक गरिएको उल्लेख गर्दै अध्यक्ष ओझाले ति पसलेहरुलाई माक्स, पुन प्रयोग गर्न सकिने पन्जा वितरण गरेको बताए ।

उत्पादनलाई असर नपरोस भनी ४ हजार भन्दा बढीलाई घरघरमा पुगेर तरकारीको बीउ वितरण गरेको जानकारी दिँदै उनले गाउँपालिकामा प्रवेश गर्ने ९ वटै नाकाहरुमा प्रहरी, स्वयम सेवक र स्वास्थ्यकर्मीहरु राखेर प्रवेश गर्नेलाई कडाई गरेको बताए ।

जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले स्वास्थ्य सचेतना, माइकिङ, लगायतका काम गरी गाउँपालिकाले कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि प्रभावकारी काम गरेको बताए । उनले कास्कीका सबै स्थानीय सरकारले गरेको सेवा प्रवाह र कोरोना भाइरस नियन्त्रणको लागि गरेको प्रयासको बारेमा अनुगमन गरेको जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्