रवीन्द्र अधिकारीको ५१ औं जन्मजयन्ती : पोखरा छिर्ने नाकामा प्रतिष्ठानले बनायो सेनिटाइजर टनेल

  • ख-
  • ख+

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा प्रवेश गर्ने नाका छोरेपाटनमा सेनिटाइजर टनेल स्थापना गरेको छ । रवीन्द्र अधिकारीको ५१ औं जन्मजयन्तीको अवसरमा सो टनेल स्थापना गरिएको हो ।

स्थानीय प्राविधिकको सहयोगमा बनाइएको टनेल सोमबार पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको प्रतिष्ठानका सदस्य अर्जुन अधिकारीले जानकारी दिए ।

‘जन्मजयन्तीको अवसरमा औपचारिक कार्यक्रम गर्नेे योजना थियो तर सोचेअनुसार हुन सकेन,’ उनले भने, ‘कोरोना रोकथामका लागि केही सहयोग होस् भनेर सेनिटाइजर टनेल स्थापना गरेर महानगरलाई हस्तान्तरण गर्यौं ।’

प्रतिष्ठानले यस वर्ष रवीन्द्र स्मृति ग्रन्थ लोकार्पण गर्ने योजना बनाएको थियो ।टनेल स्थापनासँगै स्व. नेता रवीन्द्रको तस्बिरमा माल्यार्पण गरेर ५१ औं जन्मजयन्ती मनाइएको छ । माल्यार्पण गर्दै गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, महानगर प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङलगायतले उनको योगदानको स्मरण गरे ।

सोमबार नै प्रतिनिधिसभा सदस्य एवं रवीन्द्र पत्नी विद्या भट्टराईले पोखरा महानगरको प्रकोप व्यवस्थापन कोषमा ५० हजार रुपैयाँ सहयोग गरेकी छन् । सांसद भट्टराईले पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई ५० हजारको चेक हस्तान्तरण गरेकी हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहेकै बेला अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । २०२६ साल वैशाख २२ गते कास्कीको भरतपोखरीमा बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीको कोखबाट रवीन्द्रको जन्म भएको थियो ।

अनेरास्ववियुबाट राजनीति शुरू गरेका अधिकारी कास्कीबाट २०६४ र २०७० सालको संविधानसभा तथा २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

२०७० सालमा संसद्को विकास समितिको सभापति रहेका अधिकारीले समृद्ध नेपाल नामक पुस्तक लेखेका छन् । आर्थिक समृद्धि र विकासको बहस गर्ने अधिकारी आशा लाग्दो युवा नेताको रूपमा चिनिन्थे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्