सुत्केरीलाई घिउ खुवाउँदै पाेखरा महानगर

  • ख-
  • ख+

लकडाउनका बेला सुत्केरी भएकाहरुलाई पोखरा महानगरपालिकाले पोषण कोसेली वितरण गर्न थालेको छ ।


चैत ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई भेटेरै कोसेलीका रुपमा घिउ, हर्लिक्स, तेल, साबुनसहित नगद ५ सय रुपैयाँ उपलब्ध गराउन थालेको हो ।

महागनरले पहिलो दिन आइतबार १८ जनालाई सुत्केरीलाई पौष्टिक आहार उपलब्ध गराएको हो । शनिबारसम्म २६ जना सुत्केरीको नाम महानगरको हटाइन नम्बर मार्फत् टिपाइएको थियो । आइतबार पोखरा महानगरपालिका वडा नम्वर ९, १० र १५ मा वडा अध्यक्ष, वडा सदस्य र महानगरका कर्मचारी पौष्टिक आहारसहित भेट्न पुगे ।

महागनरले उपलब्ध गराएको पौष्टिक आहारमा १ किलो घिउ, १ किलो हर्लिक्स, १ लिटर तेल, एउटा साबुन र नगद ५ सय रुपैयाँ छ । सुत्केरी महिलाहरुलाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव भएको गुनासो आएपछि महागनरले १५ सय रुपैयाँ बराबरको प्याकेज सहित नगद ५ सय रुपैयाँ दिने निर्णय गरेको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।

चैत ११ गतेपछि सुत्केरी भएका ४५ दिन सम्मका महिलाहरुलाई महानगरले पौष्टिक आहार उपलब्ध गराएको उनले बताइन् । ‘सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भनिन्, ‘यसलाई राहतको रुपमा भन्दा पनि सुत्केरी अवस्थालाई मध्यनजर गरेर पोषिलो खाना आवश्यक पर्ने भएकाले त्यही अनुसार वितरण गरिएको हो ।’

आइतबार पोखरा १५ मा वडाध्यक्ष प्रकाश पौडेल, वडा सदस्य पार्वती कार्की, महागनरका कर्मचारी शर्मिला भण्डारी र रेवती भण्डारीले सुत्केरी महिलाको घरमै पुगेर पौष्टिक आहार उपलब्ध गराएका थिए । त्यस्तै वडा नम्वर १० मा वडा सदस्य सम्मरबहादुर श्रेष्ठ लगायत कर्मचारीसहित पुगेर पौष्टिक आहार उपलब्ध गराए । आइतबार थपिएका सुत्केरी महिलाहरुलाई सोमबार पौष्टिक आहार वितरण गरिने महानगर सामाजिक विकास महाशाखाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्