नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेट एपीएफ र सुदुर पश्चिम प्रदेश विजयी

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र सुदुर पश्चिम प्रदेश विजयी भएका छन् ।
पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको बागमतीले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८९ रन जोडेको थियो । जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य प्राप्त ग¥यो । एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाए ।

बागमतीको तर्फबाट अस्मिना कर्माचार्यको अविजित १९ तथा सुमन खतिवडाको १९ रनको पारी खेलेका थिए । एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक एक विकेट हात पारे । बागमतीका बलरहरु सोनी पाख्रिन र सुमन खतिवडाले समान दुई/दुई तथा अस्मिना कर्माचार्यले १ विकेट लिइन् । खेलमा एपीएफकी नेरी थापा प्लेयर अफ द म्याच भइन् ।

मंगलबारको अर्को खेलमा सुदुर पश्चिम प्रदेश घरेलु टोली गण्डकी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो । पहिला व्याटिङ गरेको गण्डकीले पुरा २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ५९ रन बनायो । गण्डकीको तर्फबाट श्रृष्टि जैशिले २८, ज्योत्स्निका मरासिनीले ७, सिमाना केसीले ६, सिला क्षेत्रीले अभिजित ६ रन बनाइन् । सुदुर पश्चिमको बलिङतर्फ रितु कनौजियाले २ तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एक/एक विकेट लिए ।

जितका लागि ६० रनको लक्ष्य सहित मैदान उत्रिएको सुदुर पश्चिम प्रदेशले १०.२ ओभरमा ४ विकेट गुमाउँदा विजयी लक्ष्य प्राप्त ग¥यो । सुदुर पश्चिमको व्याटिङमा रितु कनौजियाले २० बलको सामना गर्दै ३ चौकाको मद्धतमा २२ रन बनाइन् । त्यस्तै, स्नेहा महराले २७ बलमा ४ चौका सहित २१ रन हानिन् । गण्डकीका बलरहरु शिला क्षेत्रीले २ र श्रृष्टि जैशिले १ विकेट लिइन् । खेलमा सुदुर पश्चिम प्रदेशकी रितु कनौजिया प्लेयर अफ द म्याच भइन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्