नवौं राष्ट्रिय खेलकुद:पुरुष ह्याण्डबल-गण्डकी फाइनलमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घरेलु टोली गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाईनलको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५४–२१ गोल अन्तरले पराजित गरेको हो ।
गण्डकीको जितमा चन्द्र थापाले सर्वाधिक १८ गोल गरे।्का थिए । गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ ।
महिला भलिबल
एपीएफको विजयी सुरुवात
नवौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपीएफले बिजयी सुरुवात गरेको छ ।
म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
एफीएफले २५–६, २५–०२ र २५–०७ को सेटमा कर्णालीमाथि जित निकालेको थियो ।
महिला भलिबलमा ७ प्रदेश र ३ विभागिय टोलीको सहभागिता रहेको छ । शुक्रबार हुने तीन खेलमध्ये बागमती प्रदेश र प्रदेश १, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशका खेल हुँदैछन् ।

टेनिस सुरु
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गरे ।
सदस्य सचिव घिसिङले मुख्य टेनिस प्रशिक्षक रेणुदेवी कोण्डालाई टेनिस बल हस्तान्तरण गरेर प्रतियोगिताको सुभारम्भ गरेका थिए ।
टेनिसमा आयोजक गण्डकी प्रदेश सहित तीन विभागीय, मधेश, लुम्बिनी, बागमती, सुुदुरपश्चिम र एनआरएनए गरी नौ टोलीले भाग लिएका छन् ।
टेनिसमा महिला तथा पुरुष टिम इभेण्ट, महिला डबल्स, पुरुष डबल्स, मिक्स, महिला व्यक्तिगत र पुरुष व्यक्तिगत गरी सात विधामा प्रतिस्पर्धा हुने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा सात स्वर्ण, सात रजत र १४ कास्यका लागि ८० जना खेलाडीकाबीच प्रतिस्पर्धा हुनेछ ।
टेनिसमा पुरुषतर्फ नेपालको नम्बर १ वरियताका खेलाडी प्रदीप खड्को गण्डकी प्रदेशबाट र महिलातर्फ शीर्ष वरियताका अभिलाशा विष्ट नेपाली सेनाको टोलीबाट खेल्नेछिन् ।
पोखरा रंगशालामा टेनिसका छ वटा कोर्ट छन् । चार वटामा टेनिस र दुईवटामा सफ्ट टेनिसका खेल हुने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसेले जानकारी दिए ।
कार्यक्रममा सदस्य सचिव घिसिङले नीजि क्षेत्रको लगानीमा टेनिसका खेल पूर्वाधार निर्माण हुनु अत्यन्त प्रशंसनीय रहेको बताए । उनले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई उच्चतम प्रदर्शन गरी विजयको शुभकामना व्यक्त गरे ।
पुरुष भलिबल पुलिसको विजयी सुरुवात

प्रतियोगिता अन्र्तगत पुरुष भलिबलमा विभागीय टिम पुलिसले विजयी सुरुवात गरेको छ ।
साविक विजेता पुलिसले शुक्रबार पोखरा रंगशालास्थित कोर्टमा भएको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ मा सहज जित निकाल्यो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र वाग्मतीबीच हुने छ ।

पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कर्णालीसहित लुम्बिनी प्रदेश रहेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।

प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सीधै क्वाटरफाइनल पुगेका छन् । दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।

महिला हक्की
नवौं राष्ट्रिय खेलकुदतर्फ महिला हक्कीको आज भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ ।
आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मीले ८–० को गोल अन्तरले मधेस प्रदेशलाई हराएको हो ।
खेलको पहिलो क्वाटरमा आर्मीकातर्फबाट सीतामाया बलले गोल गर्न सफल भएकी थिइन् ।
खेलको सुरुआतीको ५ मिनेटमै बलले गोल गरेकी थिइन् । त्यस्तै खेलको ७ मिनेटमा आर्मीकैतर्फबाट सीमा खड्काले गोल गरेकी थिइन् ।
खेलको दोस्रो क्वाटरमा सीतामाया बलले पुन एक गोल गरिन् । १८ औं मिनेटमा उनले गोल गरेपछि २४ मिनेटमा आर्मीकैतर्फबाट कमला चन्दले पुनः एक गोल गरिन् ।
त्यस्तै तेस्रो क्वाटरमा सीतामाया र सुनिता नेगीले आर्मीका लागि १–१ गोल गर्न सफल भए । ३९ औं मिनेटमा सुनिताले गोल गरेको एकमिनेट लगत्तै सीतामायाले गोल गरेकी थिइन् ।
अन्तिम क्वाटर फाइलनमा आर्मीकातर्फबाट कमला चन्द र सुनिता नेगीले पुन एक–एक गोल गरेका थिए ।
यो सँगै आर्मीले खेल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । यसपछिको खेल लुम्बिनी र गण्डकी प्रदेश बीच हुँदै छ ।

आइटिएफ तेक्वान्दो भोलिदेखि

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि सुरु हुने आइटिएफ तेक्वान्दोको सबै तयारी पूरा भएको छ ।
बागलुङ सदरमुकामस्थित बाङ्गेचौर कभर्ड हलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ ।

प्रतियोगिता व्यवस्थापनका लागि नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा गठित ५१ सदस्यीय समिति व्यवस्थाकीय तयारीका काममा सक्रिय छ । कभर्ड हलसँगै खुला मैदानमा पनि प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका गरी दुई सय ५० खेलाडीले भाग लिनेछन् ।

खेलाडीसहित ४५ रेफ्री, प्रत्येक टिमका प्रशिक्षक, अफिसियल, प्राविधिकलगायत गरी झण्डै तीन सय ५० जना प्रतियोगितामा सहभागी हुनेछन् । अधिकांश टिमका खेलाडी र प्राविधिक बिहीबार नै जिल्लामा आइसकेको प्रतियोगिता व्यवस्थापन समितिले जनाएको छ ।

गण्डकी प्रदेशका आइटिएफ प्रशिक्षक आकाशचन्द्र घर्ती मगरले प्रतियोगितामा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा प्रतिस्पर्धा हुने बताए । विभिन्न उमेर र तौल समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षक घर्ती मगरका अनुसार हरेक टिमबाट २५ जना खेलाडीले प्रतियोगिता खेल्नेछन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्