शिक्षा र स्वास्थ्य नै समाजवादको प्रस्थानविन्दु : श्याम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

२३ कात्तिक, पोखरा ।

कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य उम्मेद्धार वेद बहादुर गुरुङ ‘श्याम’ले निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यमा जोड दिने कुरा बताएका छन्। नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेका गुरुङले देशलाई समृद्धिको बाटोमा हिडाउन शिक्षा र स्वास्थ्यको बिछट्टै महत्व रहेको कुरा समेत बताए ।

बुधबार पोखरा महानागरपालिका वडा नम्बर १२ का मतदातासंग गुरुङले भेटघाट गरेका थिए। भेटघाटको क्रममा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो आधारभूत कुरा दिने दायित्वबाट सरकार भागेको आरोप समेत लगाए। गुरुङले आफू निर्वाचित भएपछि निशुल्क र गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको लागि नीति बनाउन लाग्ने बताए।

‘शिक्षा र स्वास्थ्यमा समान पहुँच नभएसम्म विकास र समृद्धि सम्भव छैन। त्यसैले विपन्न वर्गका बालबालिकाहरुको निशुल्क शिक्षा प्रदान हुनेछ। सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरिनेछ। ‘ गुरुङले भने, ‘ नेताहरु समाजवादको चर्को नारा बोकेर हिडेका छन्। जनतालाई पुरा नहुने सपना बाँड्दै हिडेका छन् । तर समाजवादको प्रस्थानविन्दु नै बिर्सेका छन्। शिक्षा र स्वास्थ्यमा गुणस्तर नआएसम्म देशले वास्तविक विकास असम्भव छ ।’

‘शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सरकारले बर्सेनि २ देखि ३ खर्ब बजेट विनियोजन गर्छ। तर समस्या ज्युँको त्युँ छ । अझै गरिब जनताले पढ्न पाएको छैन । जीवनजल नपाएर ज्यान गुमाउनु परेको छ । ‘ गुरुङले भने,’ गलत नेता चुन्नु र गलत व्यक्ति सरकारमा जानुको कारणले यस्तो भएको हो। मलाई जिताउनुस्। समस्या समाधान गर्न लाग्नेछु ।’

गुरुङले प्रदेशमा भरि माध्यमिक तहको शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य गराइने, विद्यालयलाई अपांगता र बालमैत्री बनाइने, भौगोलिक रूपमा टाढा रहेका प्राविधिक तथा व्यावसायिक विषयका विद्यार्थीका लागि आवासीय शिक्षाको व्यवस्था गरिने कुरा स्थानिय मतदातालाई सुनाए । पोखरा १२ स्थित माटेपानीका नन्द माया थापाले वेद बहादुर गुरुङको योजना सुनेपछि एमालेमा भोट हाल्ने कुरा बताए । ‘उहाँ जस्तो युवा अनि भिजन भएको मान्छेलाई अब देशको बागडोर सुम्पिनु पर्दछ । अनिमात्र देश र जनताको भलाई हुन्छ ।’ उनले भनिन्।

गुरुङले आफू मादी गाउँपालिकाको अध्यक्ष हुँदा स्वास्थ्य र शिक्षामा उलेखनीय काम गरेको दाबी गरेका थिए। कार्यभार ग्रहण गर्नु अघि ७ वटा मात्र स्वास्थ्य चौकी रहेको मादीमा अरु ६ वटा थपेको र थुम्सीकोटमा १५ शैयाको अस्पताल निर्माण गरेको बताए। त्यस्तै शैक्षिक क्षेत्रमा नीतिगत र व्यवहारिक प्रयासपछि स्तर उन्नति भएको दाबी गरे।

मंसिर ४ गते हुने निर्वाचनमा एमालेले राम्रो नतिजा ल्याउने दावी गरे । गठबन्धन सरकारको पछिल्लो गतिविधि देखेर जनताले निरास भएको कुरा सुनाए। नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश क तर्फ खगराज अधिकारी र ख तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएका छन्। नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्