समृद्धिको अभियानमा जुट्ने वाचा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

 

२४ कात्तिक, पोखरा ।

चुनावी माहोलले अहिले बजार तातेको छ । निर्वाचन नजिकिदै गर्दा विभिन्न राजनैतिक पार्टीका उम्मेदवारहरु प्रचारप्रसारमा जुटिरहेका छन् । यस्तै कास्की क्षेत्र नं १ (ख) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेद्वार वेद वहादुर गुरुङ ‘श्याम’ पनि यतिबेला मतदातासँगको भेटघाटमा व्यस्त छन् । उनी कास्की क्षेत्र नं १ (ख) अन्तर्गतका विभिन्न वडाहरुमा एमालेका पक्षमा मत मागिरहेका छन् । उनले बिहिबार पोखरा १०, १२ र १३ का विभिन्न टोलहरुमा पुगेर मतदाता भेटेका छन् ।

घरदैलो कार्यक्रममा गुरुङले नीति निर्माणसँगै समृद्धिको अभियानमा जुट्ने वाचा गरे। देशलाई समृद्ध बनाउने र उक्त समृद्धिका आधारमा जनतालाई सुखी बनाउने अभिप्राय रहेको बताए । मतदातासंग भेटघाटको क्रममा बोल्दै उनले कृषिको व्यावसायीकरण र आधुनिकरण गरि उत्पादन वृद्धि र त्यसको सहि बजारीकरण गर्ने, स्थानिय बजारको व्यवस्थापन गरि स्थानिय पुंजीको विकास गर्दै उच्च गतिमा आर्थिक विकास मार्फत समृद्द नेपाल र सुखी नेपाली बनाउने प्रतिवद्धता जनाए । त्यस्तै स्वदेशमै रोजगारी सृजना गर्ने वातावरण निर्माण गर्न आफ्नो उम्मेद्वारी रहेको गुरुङको भनाई छ ।

‘व्यवस्था बदल्यौं अब देशको अवस्था फेर्न सुर्य चिन्हमा मतदान गर्नु होला। तपाईको भोट खेर जाने छैन । ‘ गुरुङले भने,’ अबको हाम्रो संघर्ष अनि लक्ष्य भनेको सुशासन, समृद्धि र विकास हो । यसमा तपाईहरुको साथ खाँचो छ । मलाई एकपटक चुनेर पठाउनु होला। ‘ उनले निर्वाचन क्षेत्रका हरेक समस्या अवगत रहेको बताउँदै निर्वाचित भएपछि कुनै पनि विकास निर्माणका काममा ढिलाइ नगर्ने कुरा बताए।
उनले आफु मालिक नभई जनताको सेवक भएर काम गर्ने बताए ।

त्यस्तै सडक संजाल विकासको पूर्वाधार रहेकोले सडकहरुको स्तरोन्नती जोड दिने कुरा बताए । ‘मादी गाउँपालिकाको केन्द्र याङजाकोट जोड्नेबाटो, पोखरा देखि सिक्लेस, मिजुरे, ताङतिङ, लिप्यानी, भाचोक, वार्चोक, माझठाना, अर्बा र विजयपुर जोड्ने सडकलाई पिच बनाउने छु। ‘ गुरुङले भने,’ पोखराका केहि वडाहरुको खाल्डा खुल्डी परेका र धुलाम्मे सडकहरुको स्तरोन्नती गर्नेछु। ‘ गुरुङले आफू मादी गाउँपालिकाको अध्यक्ष हुँदा सडक संजाल विस्तार गरेको दाबी गरे । जनताको दैलोमा पुग्दा पाएको समर्थनले पनि आफुले निर्वाचन जितिसकेको दाबी समेत गरेका छन्।

नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश क तर्फ खगराज अधिकारी र ख तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएका छन्। नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्