डिभिजन वन कार्यालय कास्कीमा डाटिङ गन, रेस्क्यु टिम र वन्यजन्तु दुवै सुरक्षित हुने विश्वास

तारा पौडेल
  • ख-
  • ख+

तारा पौडेल/पोखरा ।
डिभिजन वन कार्यालय कास्कीले डाटिङ गन खरिद गरेको छ । डाटिङ गन वन्यजन्तु लठ्याउन प्रयोग गरिने एक छुट्टै प्रकृतिको गन हो । मानव वस्तीभित्र छिर्ने चितुवा तथा हिंस्रक वन्यजन्तुलाई नियन्त्रण गर्नका लागि यो गन प्रयोग गरिन्छ । वन कार्यालयले जिल्लामा रहेको पचभैंया वन्यजन्तु उद्धार केन्द्रको गत आर्थिक वर्षको वजेटबाट नौ लाख ४२ हजार रुपैयाँको लागतमा उक्त गन खरिद गरेको हो । खरिद गर्नुभन्दा पहिला वन कार्यालयले हातहतियार खरखजाना ऐन अन्तर्गत गृहमन्त्रालयको स्वीकृति लिएको थियो ।

वस्तीभित्र हिंस्रक जनावर प्रवेश गरेपछि त्यसलाई नियन्त्रण गर्न एकदमै जोखिम भएकोले नयाँ प्रविधिको प्रयोगको रुपमा डाटिङ गन खरिद गरेको डिभिजन वन कार्यालय कास्कीका डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिए । उनले भने–‘मानव वस्तीमा पसेका वन्यजन्तु, चितुवा वा हिंस्रक जनावरलाई वनका कर्मचारीले खाली हात भेडा बाख्रा छेकेर समाते झै समात्दा ज्यानको निकै जोखिम थियो, भने जनावरहरुलाई पनि समात्ने क्रममा हानी हुने जोखिम हुन्थ्यो । तर अव भने डाटिङ गनको प्रयोगबाट जनावरलाई सजिलै समात्न सकिन्छ र, रेस्क्यु टिम र वन्यजन्तु दुवै सुरक्षित हुन्छन् भन्ने हाम्रो विश्वास छ ।’

उनका अनुसार गन मार्फत औषधी पठाएर वन्यजन्तु नियन्त्रण गर्ने यो एउटा विश्वव्यापी रुपमा सबैभन्दा स्थापित उपाय हो । यसको प्रयोग तरिका भन्ने हो भने सिरिन्जको माध्यमबाट औंषधीलाई नालभित्र राखिन्छ र फायर गरेपछि औषधी सिरिन्जसहित गएर जनावरमा कोपिन्छ । कोपिएपछि भएको औषधी वन्यजन्तुको शरीरभित्र जान्छ र त्यो लठिन्छ । त्यो औषधीको मात्रा अनुसार कत्रो वन्यजन्तुलाई कति मात्रामा औषधी राख्ने भन्ने कुरा मुख्य रहन्छ । भेटनरी डाक्टरले प्रेस्काइप गरेको मात्रा बमोजिम औषधी राख्नुपर्ने मान्यता रहेको बराल बताउँछन् । हावाको प्रेसरले चल्ने डाटिङ गनमा एअर सिलिण्डर हुन्छ । यएर सिलिण्डरमा हावा भर्न फुट पम्प प्रयोग गरिन्छ । हावाको प्रेसरले बन्दुक सञ्चालन हुन्छ ।

अहिलेसम्म काठमाण्डौं बाहेक देशका अन्य कुनै पनि डिभिजन वन कार्यालयमा डाटिङ गन नभएको वन अधिकृत केदार बराल बताउँछन् । यसभन्दा अघि यस्तो प्रकृतिको गन चितवन राष्ट्रिय निकुञ्ज र सदर चिडियाखाना जावलाखेलमा मात्र रहेको थियो ।

यस गनलाई आफूहरुले जिल्लामा मात्र सिमित नराखेर गण्डकी प्रदेशका लागि नै प्रयोग गर्ने उनको भनाई छ । प्रदेशका जहाँसुकै ठाउँ पनि मानववस्तीमा आउने वन्यजन्तु, घाइते वन्यजन्तु, टुहुरा वन्यजन्तु जति पनि फेला पर्छन, ति वन्यजन्तु पचभैयाँ वन्यजन्तु उद्धार केन्द्रमा लगेर राख्ने गरिन्छ । र, ठिक भएपछि तिनको प्राकृतिक वासस्थानमा लगेर छोड्ने गरिन्छ । त्यस्ता खालका वन्यजन्तुलाई पनि उद्धार गर्न र उद्धार केन्द्रभित्रै पनि तिनिहरुलाई उपचार गर्न एक खोरबाट अर्को खोरमा स्थानान्तरण गर्नका लागि पनि तिनीहरुलाई लठ्याउन डाटिङ गनको आवश्यकता भएको वन अधिकृत केदार बरालले बताए ।

उनका अनुसार सम्भवतः यहि सातामा उक्त गनको पचभैयाँ वन्यजन्तु उद्धार केन्द्रमा नै परिक्षण प्रयोग हुन्छ । त्यहाँ सानो खोरमा रहेका निल गाई र चित्तल लगायतका जनावरलाई नयाँ बनाएका दुई वटा खोरमा स्थानान्तरण गरेर परिक्षण प्रयोग गरिन्छ । जसको सहयोगका लागि वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटनरी डाक्टरहरु र प्राविधिकहरुलाई पत्र काटिसकेको छ । सोही क्रममा डिभिजन वन कार्यालयका प्राविधिक टोलीले पनि थप तालिमहरु लिनेछन् ।

उनले कार्यालयका प्राविधिकहरु तालिम प्राप्त भए पनि गन चलाउन भन्दा गनमा औषधीको मात्रा मिलाउन महत्वपूर्ण कुरा हुने भएकाले कार्यालयले अनकल सिस्टममा राखेको भेटनरी डाक्टरको सहयोगमा डाटिङको काम गर्ने बताए ।

पचभैयाँ वन्यजन्तु उद्धार केन्द्र २०७२ सालमा स्थापना भएको हो । पोखरा महानगरपालिका वडा नम्वर ३०,३१ र ३२ का तिन वटा वडाका सामुदायिक वनमा १५० हेक्टर वन क्षेत्रमा पचभैयाँ वन्यजन्तु उद्धार केन्द्र स्थापना भएर सञ्चालन भएको छ । यो गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा पचभैँयाँ वन्यजन्तु उद्धार केन्द्रलाई प्रदेशकै गौरवको आयोजनाको रुपमा स्थापित गरेको छ ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्