शहिद,घाइते तथा वेपत्ता परिवारलाई नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्न सांसद कोइरालाको माग

  • ख-
  • ख+

पोखरा,१८ जेठ ।
गण्डकी प्रदेश सभाका सांसद दीपक कोइरालाले गणतन्त्र प्राप्तिको लागि जीवन बलिदान गर्ने शहिद, घाइते र वेपत्ता हुनेहरु र तिनका परिवारलाई नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

विनियोजन विधेयक २०७७/७८ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै सांसद कोइरालाले उक्त कुरा बताएका हुन् । गणतन्त्र ल्याउन बलिदान गर्ने शहिद , घाइते तथा वेपत्ताहरुको आश्रित परिवारलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन नगर्ने कुरा गम्भीर विषय हुने उनकाे भनाई छ ।

यसै विच पूर्व माओबादीबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद गायत्री गुरुङले अझै पनि शहिद, घाइते, अपाङ्गता तथा वेपत्ता भएका परिवारको मुद्धा सरकारले गम्भीरतापूर्वक नलिदा बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेको बताइन् ।

सांसद मधुमाया अधिकारीले शहिद, वेपत्ता, घाइते हरुलाई सरकारले भुलेको आरोप लगाए । उनले सरकारले रोजगार र सिपमुलक तालिमहरुपनि आश्रित परिवारलाई गराउनु पर्ने बताए ।

सांसद आशा कोइराला खनालले संघियताको मर्म अनुरुप सरकारले काम गर्न नसकेको बताइन् । शहिदको नाममा निर्माण भएका पार्क बाटोहहरु निर्माण सम्पन्न नभएर अलपत्र परेको उनकाे भनाई छ ।

उनले बजेटको सिद्धान्त र प्राथमिकताप्रति आफूहरुको समर्थन रहेपनि शहिद, घाइते तथा वेपत्ता परिवारलाई सम्बोधन नगरेकाले सो मुद्धा आगामी नीति तथा कार्यक्रममा समावेश गर्न माग गरिन् ।

प्रदेश सभामा विहीबार विनियोजन विधेयक २०७७/७८ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अन्य सांसदहरु मायानाथ अधिकारी, डोबाटे विश्वकर्मा ,कृष्ण थापा, मोहन रेग्मी, हरिशरण आचार्य ,ललिता गुरुङ , प्रभा कोइराला,ललितकला गुरुङ,ओमकला गौतम,मीना गुरुङ सावित्री राना, लक्ष्मी सुनार , जनकलाल श्रेष्ठ, पुष्पा भण्डारी लगायतले भाग लिएका थिए ।

उनीहरुले सरकारलाई दिएको सुझाबहरु समेटेर नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने सुझाव दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्