आठौं पेक टेक्निकल एक्स्पो सम्पन्न (फोटो फिचर)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा इन्जिनियरिङ कलेजले गरेको आठौं पेक टेक्निकल एक्स्पो २०२२ सम्पन्न भएको छ । शुक्रवार र शनिवार गरी दुई दिनसम्म कलेज परिसरमा भएको एक्स्पो तिन हजार भन्दा बढिले अवलोकन गरेको कलेजले जानकारी दिएको छ ।

एक्स्पोको पहिलो दिन विशेष गरी विद्यालय तथा कलेजका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो भने दोस्रो दिन अभिभावक तथा अतिथिहरुको सहभागिता बढि थियो ।

एक्स्पो समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका फ्याकल्टि अफ साइन्स एण्ड टेक्नोलोजीका डिन राजेश ठकुराठीले विद्याथीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि अत्यावश्यक हुने भएकोले कलेजले गरेको एक्स्पोको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा विशेष अतिथि प्रो.डा. विनय भद्रा, कलेजका एक्स्ट्रा करिकुलर एक्टिभिटिजका कोअर्डिनेटर प्रविणकुमार श्रेष्ठ, रिसर्च म्यानेजमेण्ट सेलका कोअर्डिनेटर इन्जिनियर कृष्ण घिमिरे, जुरि मेम्मरको तर्फबाट विष्णु पौडेल लगायतले एक्स्पोको विषयमा बोलेका थिए ।

 

समापन कार्यक्रममा प्रोजेक्टको मुल्यांकन गर्दै वेष्ट प्राइज वितरण गरिएको थियो । साथै विधागत रुपमा उत्कृष्ट एक्स्पोको प्राईज तथा कलेजमा भएका स्पोर्टसको प्राइज समेत वितरण गरिएको थियो ।

कलेजका विद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेको एक्स्पोको समापन कार्यक्रम कलेजका डाइरेक्टर अमर गुरुङको अध्यक्षतामा भएको थियो ।

३८ वटा प्रदर्शनी स्टल रहेको एक्स्पोमा १७ वटा सिभिल इन्जिनियरिङको, ११वटा कम्पुयुटर इन्जिनियरिङ र १० आर्किटेकको स्टल रहेका थिए । एक्स्पोमा विद्यार्थीहरुले उत्पादन गरेका करिब ५० वटा प्रोजेक्टहरु राखिएको थियो ।

एक्स्पोमा चोरी विरोधी प्रणाली, सडक सुरक्षा प्रणाली, मेरो भोट, गृह स्वचालन प्रणाली, रोबोटिक हात, फिंगरप्रिन्ट लक प्रणाली, एग्रोमार्ट वेबसाइट, सांस्कृतिक घरहरू, स्तूप, अन्तर्राष्ट्रिय भवन, ल्यान्डस्केप डिजाइन मोडेलहरू, प्राचीन

ऐतिहासिक वास्तुकला, प्रमुख वास्तुकला भवनहरू, पानी आपूर्ति प्रणाली, ई–रोड, मिनी हाइड्रोपावर, मलजल उपचार लगायतका सामाग्री रहेका थिए ।

हरेक दुई/दुई वर्षमा हुने एक्स्पोमा कलेजभित्रका विद्यार्थीबिच प्रतिस्पर्धा हुन्थ्यो भने यो पटक अन्य कलेजका विद्यार्थीले पनि सहभागीता जनाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्