लेखनाथ महोत्सवमा आईतबार ३० हजार दर्शक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

लेखनाथ ।

लेखनाथ । १८ औं संस्करणको लेखनाथ महोत्सवको आईतबार मात्रै ३० हजार दर्शकहरुले अवलोकन गरेका छन ।
दर्शकहरुको उत्साहजनक सहभागिता रहेको प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन् ।
बिदाको दिन परेका कारण हिजो र अस्तिको तुलनामा आज कारोबार पनि राम्रो भएको छ । आज ३० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेकोमा १ करोड बढीको कारोबार भएको संयोजक ओझाले बताए । पहिलो दिन ३० हजार र दोस्रो दिन १० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।
महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् ।
आज भएको लोकदोहोरी कार्यक्रममा गायक पशुपति शर्मा, जीवन दाहाल, रेशम निर्दोषी, पर्शुराम अधिकारी, गायिकाहरु सुमन थापा, तुलसा जिसी, रमा रानाको प्रस्तुति रहेको थियो भने, हाँस्यव्यंग्यतर्फ युवराज भण्डारी, राजेन्द्र नेपालीको आर्कषक प्रस्तुति रहेको थियो ।
त्यस्तै महोत्सवमा युवाहरुका लागि प्रत्येक दिन लाइभ कन्सर्ट पनि राखिएको छ । कन्सर्ट प्रत्येक साँझ ६ बजेदेखि ८ बजेसम्म संचालन हुँदै आएको छ । आजको लाइभ कन्सर्टमा हिमाल सागर, आशिस सचिनले प्रस्तुति दिएको संयोजक ओझाले जानकारी दिए । भोलि महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु कुलेन्द्र बिक, राजन कार्की, प्रेमराज अधिकारी, नारायण सुवाल गायिकाहरु आइशा गौतम, बन्धना पाण्डे, कमला गैह्रे, बिनु लामाको प्रस्तुति रहने भएको छ । त्यस्तै हाँस्यव्यंग्यतर्फ बेगम नेपाली उर्फ ‘भटभटे’, मनराज श्रेष्ट उर्फ ‘भगवान’को आर्कषक प्रस्तुति रहने भएको छ भने लाइभ कन्सर्टतर्फ ¥यापर दिमृती र संजिव सिंह रानाको प्रस्तुति रहने भएको छ ।
निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सव पोखरा महानगरपालिकाको तालचोक डाडा नाकमा जारी छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् ।
ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ । यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रमोशनका लागि पनि विभिन्न प्रतिष्ठानले स्टल राखेका छन् ।

ग्रामिण क्षेत्रमा लोप हुँदै गरेका अधिकांस वस्तुहरु महोत्सवमा राखिएका छन् । जसका कारण दर्शकहरुको आकर्षण बढ्दै गएको संयोजक ओझाले सम्पूर्णमा आग्रह गरेका छन् । सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्