पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी,आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गत माघ १० गते स्याङ्जाको आँधिखोला गाउँपालिका वठा नं. ४ बाङ्सिङ दहमा रिपोर्टिङका लागि पुगेका फेवा टेलिभिजनका समाचार प्रमुख तथा समाचारपाटी डटकमका पत्रकार प्रल्हाद चन्द्र घिमिरेमाथि दुर्व्यवहार गर्नेहरुले माफी मागेका छन् ।

आँधिखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष सिंहबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष ओम शर्मा, महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंक अधिकारी, महासचिव प्रकाश ढकाल, फेवा टेलिभिजनका प्रवन्ध निर्देशक लिला बहादुर जिसीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा भएको छलफलमा पत्रकार घिमिरेमाथि दुर्व्यवहार गर्ने स्थानिय टोल विकास समितिका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेशम पौडेल, पिताम्बर पौडेल, बाबुराम पौडेलले आफुहरुले पत्रकार भन्ने थाहा हुँदा हुँदै आवेशमा आएर गल्ती गरेको स्वीकार गर्दै आगामी दिनमा यस्ता कार्य नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनीहरुले आगामी दिनमा सामाजिक काम र सार्वजनिक विषयमा पत्रकारहरुको सहयोग लिएर काम गर्ने समेत बताएका छन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले पत्रकारहरुलाई सार्वजनिक विषयमा निर्वाध रुपमा समाचार संकलन र संप्रेषण गर्ने अधिकार रहेको भन्दै कार्यस्थलमा पत्रकारहरुलाई हुने यस्ता दुर्व्यवहारका घटनामा महासंघको ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा यस्ता कार्यहरु नदोहोर्याउन सुझाव दिईन् ।

गाउँपालिका उपाध्यक्ष सीता थापाले पत्रकार भनेर थाहा पाउदा आफु सहित गाउँपालिकाका प्रतिनिधिले रोक्न खोज्दा पनि पत्रकारमाथि जुन व्यवहार भयो त्यसले गाउँपालिकालाई नै लज्जित बनाएको बताईन् । उनले आगामी दिनमा यस्तो कार्य हुन नदिन गाउँपालिका सचेत हुने उल्लेख गरिन् । उहाँले पत्रकारहरुले रिपोर्टिङमा जाँदा आफ्नो परिचय खुलाएर जानकारी दिएर जान पनि सुझाव दिईन्।

सो अवसरमा पत्रकार घिमिरेले पत्रकारलाई सुचना आएपछि समाचार संकलनका लागि फिल्डमा जाँदा आगामी दिनमा यस्ता कार्य नहोस भन्ने कामना गरे ।

पत्रकार महासंघको समन्वयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा दुवै पक्षबीच छलफल भई मिलापत्र भएर आगामी दिनमा दुवै पक्षले एक आपसमा सहयोगिको भावनाका साथ आ–आफ्नो काम गर्ने सहमति भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्