डुंगा दौडमा तालपारी समूह प्रथम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा जारी तीन दिने १८ औं फेवा नब वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन विहिबार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा तालपारी समूह प्रथम भएको छ ।

यसैगरी बाराही घाट ए द्वितीय भयो भने बाराही घाट डी ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट बी समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए । होटल बाराहीका प्रवन्धक निर्देशक वैभव पौडेलले सिट्ठी फुकेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाँ पुरस्कार पाए । सान्त्वना पुरस्कारस्वरुप पाँच हजार रुपैयाँ प्रदान गरियो । पाँचौं स्थान हासिल गर्ने समूहलाई जंगल पावर ट्वान्टी फोर आवरका तर्फबाट निःशुल्क खानाको व्यवस्था गरिएको थियो । प्रतियोगिताका प्रमुख अतिथि पौडेल र संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदी लगायतले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

सहभागीहरु पहारीघाटबाट डुंगा खियाएर ताल पारी रहेको लेकहाउमा पुगी पुनः सोही घाटमा फिर्ता आएका थिए । प्रत्येक समूहमा तीन जना सहभागी रहेका थिए । नयाँ बर्षलाई स्वागत गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्धेश्यले तालमा डुंगा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

प्रमुख अतिथि पौडेलले डुंगा दौड जस्ता कार्यक्रमले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भनाई राखे । नयाँ वर्षको अवसरमा आयोजित यस प्रतियोगिताले महोत्सवको रौनक बढाएको उनले बताए ।

पंचेबाजा र नाचगानसहित आयोजित प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास प्रतियोगिताका संयोजक एवं फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले व्यक्त गरे । प्रतियोगिताका लागि संगठनले निःशुल्क डुंगा उपलब्ध गराएको संगठनका सचिव शिव जिसीले जानकारी दिए ।

प्रतियोगिताका अवसरमा नमस्ते हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो । होटल बाराहीले प्रतियोगिताको प्रायोजन गरेको थियो । कार्यक्रमको संचालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन् । फेवा नब वर्ष महोत्सव अन्तर्गत विहीबार पनि नाचगान र खानपानका कार्यक्रम जारी रहे ।

फिस्टेल गेटदेखि खहरेसम्म आयोजित महोत्सवले पर्यटन, संस्कृति र खानालाई जोड दिएको छ । बाह्रसिंगे वियर महोत्सवको प्रमुख प्रायोजक र अन्नपूर्ण केवलकार प्रालि सहसंयोजक रहेको छ । पोखरा महानगरपालिकाले सघाएको महोत्सवको प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गरेका छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्