छायाँकारहरुको पहलमा चलचित्र प्राविधिकलाई खाद्यान्न वितरण

  • ख-
  • ख+

पोखरा, १५ असार ।

लकडाउनका कारण काम अभाव भएपछि समस्यामा परेका चलचित्रका प्राविधिकहरुलाई पोखराका ३ छायाँकारहरुको नेतृत्वमा खाद्यान्न वितरण गरिएको छ । छायाँकार सन्तोष कोन्मे, प्रकाश गुरुङ ‘काश’ र प्रेम गुरुङको सँयोजनमा ३० जना प्राविधिकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

राहत वितरणको क्रममा छायाँकारहरुले केही फिल्मकर्मीहरुमार्फत आर्थिक संकलन गरेका थिए । त्यो सँगै पोखरा फिल्म सोसाइटीले पनि राहत वितरणमा सहकार्य गरेको थियो । ‘लकडाउनले यतिबेला चलचित्र प्राविधिकहरु बेरोजगार छन् । दैनिक काम गरेर आफ्नो खाना जुटाउँदै आएका प्राविधिकहरु अहिलेको अवस्थामा निकै समस्यामा छन् । त्यसैले हामीले हाम्रो तर्फबाट उनीहरुलाई सहयोग गरेका हौँ ।’ छायाँकार मध्येका एक सन्तोष कोन्मेले भने ।

चलचित्र प्राविधिकहरुमध्येपनि विशेषगरि लाइटम्यान र मेकअप आर्टिस्टलाई राहत उपलब्ध गराईएको थियो । फिल्म छायाँकन नहुँदासम्मका लागि प्राविधिकहरु समस्यामा रहने भएका कारणले आगामी दिनमा पनि उनीहरुलाई थप सहयोग उपलब्ध गराउनका लागि ३ जना छायाँकारहरुले पहल गर्ने बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्