कोभिड–१९ र यसबाट मृगाैलाका बिरामीहरुलाई बचाउने उपायहरु



✍️डा.अमृत के.सी.(मृगाैला राेग विशेषज्ञ )


अहिले विश्वभर कोरोना भाईरस संक्रमण र त्यसबाट लाग्ने रोग कोभिड–१९ (Covid-19) को त्रास फैलिएको छ । त्यसमा पनि मृगौलाका बिरामीहरुमा कोभिड–१९ को लक्षणहरु अरुलाई भन्दा बढी कडा खालको हुने सम्भावना हुन्छ । र, यस्ता विरामीहरु उच्च जाेखिममा पर्दछन् ।

कोरोना भाईरस के हो ?
यो एउटा RNA भाईरस अर्थात विषाणुको एउटा समूहलाई वैज्ञानिकहरुले कोरोना भाईरस (Corona virus) को नामाकरण गरेका हुन् । यो भाईरस सन् २०१९ काे डिसेम्वरमा चिनकाे वुहानबाट मानिसमा संक्रमण हुन थालेको हो ।

उक्त भाईरसको वैज्ञानिक नाम SARS-COV-2 हो । यसकाे संक्रमणबाट हुने रोग कोभिड–१९ बाट अरु व्यक्तिलाई भन्दा मृगाैलाका विरामीलाई उच्च जाेखिम हुने गर्दछ । र, कोभिड–१९ को जटिलताहरु पनि यस्ता बिरामीलाई बढी हुने गर्दछ । हप्तामा २ पटक हस्पिटलमा डायलाईसिस (Dialysis) गर्न जानुपर्ने र एउटै मेसिन / वेड धेरै विरामीले सेयर गर्नुपर्ने भएकोले पनि यस्ता बिरामीहरु उच्च जाेखिममा पर्दछन् ।

चिनको वुहान शहरमा डायलाईसिस (Dialysis) का बिरामीहरुमा त्यति धेरै जटिलता नदेखिए तापनि युराेपियन मुलुकहरु र अमेरिकामा डायलाईसिस (Dialysis) का बिरामीहरुमा कोभिड–१९ (Covid-19) को जटिलताले धेरै ग्रसित भएकाे पाईएकाे छ ।

युकेमा गरिएको एक अध्ययनले ३४ जना डायलाईसिस (Dialysis) गर्ने काेराेना संक्रमित बिरामीहरु मध्ये ६ जना विरामीको ११ दिनमा कोभिड–१९ नेगेटिभ आएको थियो भने १४ जनामा १५ दिनमा पनि पाेजेटिभ आएको थियो ।

एक अर्काे अध्ययनमा ६ सय ४३ डायलाईसिसका बिरामीमध्ये ९४ जनामा काेभिड-१९ पाेजेटिभ आएको थियो जसमा ६१ प्रतिशत अस्पतालमा भर्ना हुनुपरेको थियो भने ३९ प्रतिशत घरमै आईसाेलाेशनमा बसेका थिए । यसमा सरदर मृत्युदर जोखिम २९ प्रतिशत थियो । जुन अरु मानिसको तुलनामा धेरै हो ।

डायलाईसिसका बिरामीहरुलाई फोक्सोमा संक्रमण बढी देखिएको पाईएकाे छ र धेरै जसो बिरामीलाई ARDS (Acute Respiratory Distress Syndrome) भएको थियो । यसको साथै डायलाईसिसका बिरामी भएका काेराेना संक्रमित बिरामीहरुलाई भेन्टिलेटरको आवश्यकता पनि बढी देखिन्छ भने भाईरस शरीरमा रहने समय पनि बढी र अरुलाई सार्ने क्षमता पनि धेरै रहेकाे पाईएको छ ।

डायलाईसिसका बिरामीहरुको राेग प्रतिराेधात्मक क्षमता (Immunity Power) कम हुने हुँदा यस्ता बिरामीहरुलाई ज्वरो कम मात्रामा आउने गर्दछ तर अरु लक्षणहरु जस्तै खोकी, श्वासप्रश्वासको समस्या दम बढी देखिएको पाईन्छ ।

कोभिड–१९ राेगबाट डायलाईसिसका बिरामीहरु उच्च जाेखिममा पर्नुका कारणहरु

१) डायलाईसिसका बिरामीहरुको राेग प्रतिराेधात्मक क्षमता (Immunity Power) कम हुन्छ ।

२) यी बिरामीहरु डायविटिज, उच्च रक्तचाप साथै मुटुको रोगहरुले ग्रसित हुन्छन् ।

३) धेरै औषधीहरुको प्रयोग गर्नुपर्ने हुन्छ ।

४) धेरै मात्रमा अस्पताल जानुपर्ने अवस्था र एउटै मेसिन / वेड धेरै विरामीले सेयर गर्नुपर्ने हुन्छ ।

डायलाईसिसका बिरामीहरुलाई कोभिड–१९ बाट बचाउने उपायहरु

१) शिक्षा:- सबैभन्दा महत्वपुर्ण कुरा त के हो भने बिरामी र स्वास्थ्यकर्मी दुवैलाई यसको बारेमा जानकारी हुन जरुरी छ । पिपिई (Personal Protection Equipment) को प्रयाेग कसरी गर्ने साथै काेराेना भाईरस कसरी सर्दछ भन्ने कुराकाे ज्ञान हुन जरुरी छ ।

२) जनशक्ति (Work force) को व्यवस्थापन :-
जनशक्ति भन्नाले सबै स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र सुरक्षाकर्मीहरुलाई बुझिन्छ ।

# उपयुक्त ढंगले जनशक्तिकाे परिचालन गर्ने ।

# सबै जनशक्ति (कर्मचारी) लाई नियमित तालिम दिने ।

# व्याकअफ (Backup Staff) काे लिस्ट तयार गर्ने (जसले गर्दा यदि कुनै कर्मचारी बिरामी भएमा त्यो ठाउँ पुर्ति गर्न सकिन्छ ।

# रुटिङ अनुसार जनशक्तिको व्यवस्थापन गर्ने (सबै कर्मचारीलाई एकै पटक ड्युटिमा नखटाउने)

३) स्राेतहरुको व्यवस्थापन :-

#पिपिईको सही उपयोग गर्ने ।

# धेरै भन्दा धेरै Eye / Face Protection को व्यवस्था गर्ने । फेस प्राेटेक्सन (Face Protection) र आइशिल्ड (Eyeshield) / मास्क (Mask) को अनिवार्य रुपमा प्रयोग गर्ने)

# पिपिईको पुन: प्रयाेग (Recycling) को व्यवस्था अथवा स्थानिय रुपमा पिपिईको उत्पादन गर्ने ।

४) बिरामीको स्क्रीनिंग (Screening) गर्ने :-
प्राय डायलाईसिस गर्ने बिरामीहरुलाई कोभिड–१९ काे लक्षणहरु साथै कुनै कोभिड–१९ संक्रमतिसँगै सम्पर्क भएको हिस्ट्रि साेधि उच्च जाेखिमका बिरामीलाई रेड जाेनमा राखेर कोभिड–१९ को पिसिआर जाँच गर्नुपर्दछ । यदि पाेजेटिभ आएमा कोभिड–१९ काे आईसियुमा छुट्टै काेठामा डायलाईसिस गराउनुपर्दछ ।

५) कोभिड–१९ संक्रमित बिरामीको उपचार :-
# सबै डायलाईसिस गर्नुपर्ने बिरामीले फेसमास्कको व्यवस्था गर्नुपर्दछ ।

# सामाजिक दुरी कायम गराएर डायलाईसिसमा आउने र डायलाईसिस गराउने ।

# प्रत्येक डायलाईसिसका बिरामीहरुले आइशिल्ड (Eyeshield) काे प्रयाेग गर्ने ।

# स्वास्थ्यकर्मीहरुले पिपिई सही तरिकाले लगाउने ।

# डायलाईसिस गर्ने काेठा, मेसिन र अाैजारहरुलाई क्लिन / डिसइन्फेक्सन गर्ने ।

६) अन्य:-

# घरमा नै डायलाईसिसकाे सुविधा :-
नेपालमा घरमा नै डायलाईसिस गर्ने व्यवस्था त असम्भव प्राय छ । त्यसैले पेरिटोनियल डायलाईसिस (Peritoneal Dialysis) गरेमा घरमै बसी डायलाईसिस गर्न सजिलो हुन्छ ।

# अलग्गै डायलाईसिसकाे सुविधा:-
कोभिड–१९ संक्रमित डायलाईसिसका बिरामीहरुलाई अलग्गै डायलाईसिस सेवा दिनु पर्ने हुन्छ तर नेपालमा सरकारले यस्तो डायलाईसिस व्यवस्था सबै हस्पिटलमा खासै गरेको पाईदैन । यस्ता डायलाईसिस गर्नुपर्ने कोभिड–१९ संक्रमित बिरामीहरुलाई अलग्गै डायलाईसिसकाे सुविधा हुनु अति जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्